INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन विरूद्ध विप्लव नेतृत्वको नेकपाको भित्ते लेखन

मङसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन बहिष्कारको घोषणा गरेको विप्लव नेतृत्वको नेकपाले दाङमा निर्वाचन बहिष्कारका लागि भित्ते लेखन तथा प्रचार प्रसार गरीरहेको छ ।

दाङको घोराही, तुलसीपुरलगायत जिल्लाका विभिन्न शहरी तथा ग्रामिण क्षेत्रमा निर्वाचन बहिष्कारका लागि भित्ते लेखन गरेको छ  । मङसिर ४ नो भोट, मङसिर ४ को कथित संसदीय चुनाव खारेज गरौं लगायतका नारा समेटेर भित्ते लेखन गरिएको छ ।

नेकपा तुलसीपुर उपमहानगर कमिटीले उपमहानगरका विभिन्न वडा, टोलमा भित्ते लेखन भइरहेको कमिटीका इन्चार्ज विकासले जानकारी दिनुभयो ।

यसैबिच मङसिर ४ को निर्वाचन बहिष्कार गरौं भन्दै भित्तेलेखन गरिरहेको बेला विप्लव नेतृत्वको नेकपाका तीन जना नेतालाई जिल्ला प्रहरी कार्यालयले कात्ति २१ गते गिरफ्तार गरी साढे ६ घण्टा हिरासतमा राखेर रिहा गरेको थियो ।

घोराही उपमनपा–१५ डिके पेट्रोलपम्प नजिकैको घरमा मङसिर ४ को निर्वाचन बहिष्कार गरौं भन्दै भित्ते लेखन गरिरहेका बेला विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्यहरू घोराही उपमनपा–१६ का २८ वर्षीय  पदम चन्द, ३५ वर्षीया अशोका भण्डारी र ३५ वर्षीय रेवत श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय दाङले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका  एसपी बीरबहादुर ओलीले जानकारी दिनुभयो ।

विप्लव नेतृत्वको नेकपाले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको र सोही अनुसार शान्तिपूर्ण प्रचार प्रसार गरिरहेको अवस्थामा धरपकड गरेको नेकपाका जिल्ला सेक्रेटरी प्रदीप वलीले बताउनु भयो । शान्तिपूर्णरुपमा विरोध गर्ने कार्यक्रममा धरपकड नगर्न सेक्रेटरी वलीले आग्रह  गर्नुभयो ।

अन्य

भिडियो