कार्यस्थलमा महिनावारी हुँदा सरसफाई सजिलोको लागि जिल्ला प्रहरी कार्यालय दैलेखले महिला म्यादी प्रहरीलाई कात्तिक २२ गते सेनेटरी प्याड बितरण गरेको छ ।
गएको स्थानीय निर्वाचनमा असजिलो भोगेको भन्ने गुनासोको आधारमा यस पटकको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा प्रवन्ध गरिएको दैलेखका डीएसपी भुवनेश्वर साहले बताउनु भएको छ ।
दैलेखका ३ सय ५६ महिला म्यादी प्रहरी र जिल्लाभरका १३ महिला प्रहरी समेत गरी ३ सय ६९ जना महिला प्रहरीलाई प्याड दिइएको जिल्ला प्रहरी कार्यालय दैलेखको महिला सेल इञ्चार्ज असई सुशीला भूसालले जानकारी दिनु भएको छ ।
‘अघिल्लो निर्वाचनमा महिला म्यादी प्रहरीहरूले फिल्डमा गएको बेला महिनावारी भएको समयमा धेरै कष्ट भोगेको भन्ने गुनासो आएकोले यस पटक सामुदायिक प्रहरी कार्यक्रमको साझेदारीमा हरेकलाई तीन प्याकेटका दरले वितरण गरियो ’ असई भूसालले बताउनु भयो ।
कार्यस्थलमा खटिएको महिला म्यादी प्रहरीको स्वास्थ्यप्रति जिल्ला प्रहरी कार्यालय दैलेखले गरेको सानो कामको सहयोगले भावनात्मक हिसावले ठूलो सहयोग हो महिला सशक्तिकरण मञ्च दैलेखका पूर्व अध्यक्ष डिलकुमारी चन्दले प्रतिक्रिया दिनुभयो ।
निर्वाचनको कामले विकट गाउँमा पुगेको बेला महिनावारी हुँदा यी प्याड उपयोगी हुने र यसले महिला म्यादी प्रहरीलाई दत्तचित्तका साथ काममा खट्न मनोसामाजिक सहयोग पुग्ने पूर्व अध्यक्ष चन्दले भन्नुभयो ।
महिला म्यादी प्रहरीहरूलाई कार्यस्थलमा खटिएको बेला सजिलोको लागि दैलेख प्रहरीले दिइएको सेनेटरी प्याड नेपालमै यो पहिलो हो । दैलेख प्रहरीले उच्चतम् मानवीयता देखाएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एसपी माधव श्रेष्ठले बनाउनुभयो ।