द्वन्द्वकालीन घटनाको सत्यतथ्य सार्बजनिक गर्न दवाव स्वरूप पीडितहरुले बर्दियामा दीप प्रज्वलन गरेका छन् ।
शसस्त्र द्वन्द्वको समयमा राजापुर नपा– १० खैरीचन्दनपुरमा १० जना व्यक्तिलाई सुरक्षाकर्मीले घरमा सुतिरहेको अवस्थाबाट कब्जामा लिएर हत्या गरेको दिनमा पीडित परिवारले कात्तिक १७ गते घटना स्थलमै दीप प्रज्वलन गरेका हुन् ।
सरकारले घटनाको २० वर्ष पुगी सक्दा पनि सत्यतथ्य सार्वजनिक गर्न नसकेको बिरोधमा दवाव दिन दीप प्रज्वलन गरिएको द्वन्द्व पीडित समिति बर्दियाका सचिव मायाराम चौधरीले बताउनु भयो ।
राजापुर नपा– १० का सोहनलाल थारु, राधेकृष्ण थारु, गीता थारु, सरस्वती थारु, नेपाली थारु, जगतराम थारु, हेलुराम थारु, सूर्यलाल थारु र कैलाली जिल्लाका दुई जना सहित १० जनालाई सुरक्षाकर्मीको टोलीले ०५९ कात्तिक १६ गते राति सुतिरहेको अवस्थामा उठाएर लगि ०५९ कात्तिक १७ गते गेरुवा नदिको कोठियाघाटको जगंलमा हत्या गरेको थियो ।
बिहानपख गोली चलेको आवाज सुनेपछि हत्या भएको हुनसक्ने भन्दै खोज्दै जाँदा १० जनाको गोली विभत्स अवस्थामा शव भेटाएका थिए ।
तीन जना महिलाको शव निस्वस्त्ररुपमा बलात्कार गरेको अवस्थामा थियो । प्रत्यक्षदर्शीका अनुसार ती दशै जनालाई एउटै डोरीमा लस्करै बाँधेर कुटपिट गर्दै कोठियाघाटको जंगलतर्फ लगिएको थियो ।
तत्कालिन शाही नेपाली सेना सहितको सुरक्षाकर्मीको टोलीले १० जनालाई कब्जामा लिएर हत्या गरेको ०७९ कात्तिक १७ गते २० वर्ष पुगेको छ । तर पीडित परिवारले घटनाको बारेमा सत्यतथ्य थाहा पाउन सकेका छैनन् ।
घटनामा जगनी थारुले पति सोहनलाल थारु र छोरा राधेकृष्ण थारुलाई गुमाउनु भयो । राति सुतिरहेको अवस्थामा सुरक्षाकर्मीले घर घेरा हाली पति र छोरालाई जबरजस्ती उठाएर गाउँ नजिकैको कोठियाघाटमा लगि हत्या गरेको उहाँले बताउनु भयो ।
पीडित परिवारले बीस वर्ष पछि ०७९ कात्तिक १७ गते आफ्नै पहलमा आफन्तको स्मृतिमा हत्या गरिको स्थानमा दीप प्रज्वलन र स्मृति कार्यक्रम गरेका हुन् ।
सशस्त्र द्वन्द्वको समयमा द्वन्द्वरत पक्षबाट हत्या गरिएका व्यक्तिको छानविन गर्न गठन भएको सत्यनिरुपण तथा छानविन आयोगले तोकिएको समयमा काम सम्पन्न नगरिदिदा पीडित परिवार सत्य थाहा पाउन न्यायबाट वञ्चित भएका छन् ।
सोही घटनामा हत्या गरिएकी गीता थारुकी आमा प्रेमकुमारी थारुले आफ्नी छोरीको हत्या भयो भन्ने अहिले पनि बिश्वास गर्न सकिरहनु भएको छैन ।
उहाँ खैरीचन्दनपुर गाउँमा अर्काको घरमा काम गर्न बस्नु भएको थियो । तीन बजे राति ढिकीमा धान कुट्न उठ्नु भएकी उहाँलाई अरूले नउठ गाउँभरी बाक्लो समुहमा सुरक्षाकर्मी रहेको भनेपछि घरमै गएर सुत्नु भयो । तर दोस्रो दिन बिहान गाउँमा छोरी गीताको पनि हत्या भएको खबर सुन्दा बिश्वासै गर्न सकेकी छैनन् ।
