INSEC Online

📅 २०८३ जेष्ठ २१

बम विस्फोटनमा घाइते बालबालिकाको प्रदेश अस्पतालमा उपचार हुँदै

कालीकोट जिल्लाको तिलागुफा नपा–१० रानावाडामा बेवारिसे बम विष्फोटनमा घाइते भएका तीनजना बालबालिकाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

कात्तिक १२ गते शनिबार घर नजिकै खेल्ने क्रममा बम विष्फोटन हुँदा दुई बालिकाको मृत्यु भएको थियो भने तीनजना घाइते भएका छन् । घाइते तीनजना बालबालिकाको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ ।

घर नजिकको कोदोबारी जाने गोरेटोमा बम विष्फोट हुँदा स्थानीय चार वर्षीया बालिका झरना थापाको घटनास्थलमै र चार वर्षीया सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको उनका आफन्त प्रबलाल थापाले बताउनु भएको छ ।

गम्भीर घाइते भएका तिलागुफा नपा–१० रानावाडका सात वर्षीय कमल थापा, पाँच वर्षीय मुस्कान थापा र चार वर्षीय दर्शना राना रहेका छन् । उनीहरूलाई उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत ल्याइएको थियो । पाँच जना बालबालिका खेलिरहेको अवस्थामा एक्कासी बम विष्फोट भएको प्रहरीको भनाई छ । घाइते मुस्कान थापा र कमल थापाको हातको र खुट्टाको सफल अप्रेसन भइसकेको उनका आफन्त चक्र रानाले बताउनुभयो । दर्शनाको पेटमा गहिरो चोट लागेका कारण अपे्रसनका लागि दुई÷तीनदिन लाग्न सक्ने कर्णाली प्रदेश अस्पताल, सुर्खेतका निर्देशक डा. डम्बर खड्काले बताउनु भएको छ ।

विष्फोटनमा घाइते भएका बालबालिकाको सम्पूर्ण उपचार खर्च हाललाई नगरपालिकाले व्यहोरेको तिलगुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताउनुभयो । बिरामी कुरुवादेखि बिरामीको सम्पूर्ण उपचार खर्च नगरपालिकाले गर्ने र थप सहयोगका लागि गृहमन्त्रालयसँग सहकार्य गरेको उहाँले जानकारी दिनुभयो । घटनाको जिम्मा सरकारले नै लिनुपर्ने उहाँको भनाई छ ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले मृतक र घाइतेका लागि आवश्यक प्रक्रिया अगाडी बढाउने बताउनुभएको छ । घाइतेको लागि लाग्ने आवश्यक सम्पूर्ण उपचार खर्च तथा मृतकका लागि राहतको व्यवस्थाका लागि गृहमन्त्रालयसँग प्रक्रिया अगाडी बढाउने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी शर्माले बम पुरानै हुन सक्ने बताउनुभएको छ ।

यता गृहमन्त्री बालकृष्ण खाणले विस्फोटनमा परी घाइते भएकाको उद्धार तथा उपचारमा कुनै पनि कमि हुन नदिन गृह प्रशासनलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री खाणले नागरिकको जीवन रक्षा राज्यकोे पहिलो दायित्व भएकाले त्यसमा कुनै कसर बाँकी नराख्न गृह प्रशासनलाई निर्देशन दिनुभएको हो ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतका प्रदेश संयोजक नारायण सुवेदी, कार्यक्रम अधिकृत परिष्कृत पौडेल र सुर्खेतका इन्सेक जिल्ला प्रतिनिधि प्रभाकुमारी रावतसहितको टोलीले घाइते बालबालिका, उनका आफन्त र उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग कात्तिक १४ गते भेट गरी घाइतेको अवस्था र उपचारका विषयमा छलफल गरेको थियो ।

अस्पताल प्रशासन प्रमुख विनोद बस्नेतले घाइते तीन जना खतरा मुक्त भएको बताउनु भयो । घाइतेको उपचार खर्च सबै निशुल्क गरिएको प्रशासन प्रमुख बस्नेतले अनुगमनका क्रममा गएको इन्सेकको टोलीलाई जानकारी दिनु भएको छ ।

अनुगमनका क्रममा इन्सेकको टोलीले घाइते कमल थापाका बाबु प्रबलाल थापा लाई भेट गरेको थियो । इन्सेकको टोली समक्ष उहाँले हामी खेतमा काम गर्न गएका थियौ । एक्कासी विष्फोटको ठूलो आवाज आयो । के रहेछ भनेर जादा आफ्नै छोराछोरी घाइते भएका रहेछन । नेपाली सेनाको हेलिकोप्टरबाट अस्पताल ल्याइयो । छोराको भविष्य विग्रियो उहाँले दुखेसो पोख्नु भयो । छोराको उपचारमा सबैले सहयोग गरिदिन प्रबलालले आग्रह गर्नु भयो । कमल थापाको दुबै खुट्टामा र हातमा चोट लागेको छ ।

यसैगरी इन्सेकको टोलीले घाइते दर्शना रानाका बाबु चक्र रानासँग पनि भेट गरेको थियो । दर्शना रानाको पेट, हात र फिलामा चोट लागेको छ । दर्शनालाई आइसियुमा राखेको छ भने अन्य दुई जनालाई जनरल वाडमा राखेर उपचार गरिएको छ ।

अन्य

भिडियो