हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा भंगहा नगरपालिका–८ पररियामा बिहीबार भएको झडपका सन्दर्भमा आयोजित सर्वदलीय तथा सर्वपक्षीय बैठकले आठ बुँदे सहमति गरेको छ ।
कात्तिक ११ गते बिहान जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि आठ बुँदे सहमति भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिनु भयो ।
हिन्दु बाहिनी सेना सम्राटले कात्तिक १० गते निकालेको शोभायात्राका क्रममा भंगहा नगरपालिका–८ मा मुश्लिम समुदायसँग भएको झडपमा १५ जना भन्दा धेरै घाइते भएपछि कात्तिक १० गते ४ बजेदेखि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो ।
जसमा असमझदारी र झडपको स्थितिलाई नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न घटनामा सम्बद्ध दुबै पक्षलाई र आमनागरिकलाई आह्वान गर्ने सहमति भएको छ ।
यसैगरी घटनामा भएको धनजनको क्षतिको विवरण संकलन गरी क्षतिपूर्तिको लागि सिफारिस गर्न टोली गठन गर्ने र घाइतेको उपचारका लागि आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयलाई प्रमुख जिल्ला अधिकारी मार्फत अनुरोध गर्ने अपिलमा उल्लेख छ ।
सर्वदलीय तथा सर्वपक्षीय सहमति:
१. आगामि मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि जारी गरिएको निर्वाचन आचारसंहिता २०७९ सरोकारवाला सबै पक्षले पालना गरी आगामि प्रतिनीधि सभा÷प्रदेश सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भय रहित वातावरणमा सम्पन्न गर्न सबै राजनैतिक दल, उम्मेदवार र सरोकारवाला पक्षहरुले सहयोग पुर्याउने ।
२. २०७९ कात्तिक १० गते भंगाहा नगरपालिका–८ को पररियामा हिन्दु वाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा भएको दुई पक्ष बीचको असमझदारी र झडपको स्थितिलाई नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न घटनामा सम्बद्ध दुबै पक्षलाई र आम नागरिकलाई आव्हान गर्ने ।
३. २०७९ कात्तिक १० गते भंगहा नगरपालिका–८ पररियामा भएको घटनामा भएको धनजनको क्षतिको विवरण संकलन गरी क्षतिपुर्तिको सिफारिस गर्न टोली गठन गर्ने, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेको तत्काल उपचार खर्चको लागि आवश्यक व्यवस्था हुन गृह मन्त्रालय मार्फत नेपाल सरकारमा अनुरोध गर्ने ।
४. २०७९ कात्तिक १० गते भंगाहा–८ पररियामा भएको घटनामा संलग्न दोषि पत्ता लगाई कानूनी प्रक्रिया बमोजिम कार्यावाही अगाडि बढाउने ।
५. घटनाको छानविनको लागि उच्च स्तरिय टोली गठन गर्न नेपाल सरकार गृह मन्त्रालयसँग अनुरोध गर्ने ।
६. परिस्थितिलाई काबुमा राखेर तथा सामाजिक सद्भाव कायम गर्न सदभाव र्याली गर्ने ।
७. दलगत रुपमा शान्ति कायम गर्न अपिल गर्ने लगायतका कार्य, जिल्लामा कृयाशिल राजनैतिक पार्टी र समाजिक अगुवा संलग्न सर्वदलीय/सर्वपक्षीय संयन्त्रले गर्ने ।
८. छठ पर्वको उपलक्ष्यमा शुभकामना व्यक्त गर्ने ।

