INSEC Online

📅 २०८३ जेष्ठ २१

बिरामी कुरुवा भवन अलपत्र परेपछि सेवाग्राहीलाई सास्ती

लेखपोखरास्थित प्राथमिक स्वास्थ्य केन्द्रको बिरामी कुरुवा भवन अलपत्र परेपछि विरामीका कुरुवाले सास्ती पाउदैँ आएका छन् । २०६६ सालमा निर्माण सम्पन्न गरेर स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको यस विरामी कुरुवा भवन प्रयोग नभएर जीर्ण बनेपछि सेवाग्राहीलाई समस्या भएको हो ।

दुई कोठे बिरामी कुरुवा भवनको चारैतीर घास पलाएको छ । झ्याल र ढोका जीर्ण अवस्थामा छन भने कोठामा पुराना केही टेवुल, कुर्सी र दराज छन । त्यसैमा माकुराले जालो लगाएको स्थानीय सुनिल कवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिरामी कुरुवा भवन संचालनमा नआउँदा उपचारका लागि स्वास्थ्य संस्थामा पुगेका बिरामीका कुरुवाले सास्ती भोग्दै आएको बताउनुभयो । ‘प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको चाप छ, सुत्केरी हुने लगाएत अन्य आकस्मिक बिरामीलाई लिएर आफन्तहरू यहाँ आउँछन, तर बिरामी कुरुवाको लागि बस्ने ठाँउ छैन, कुरुवाले पनि बिरामीको बेडमा बसेर रात बिताउनुपर्ने बाध्यता छ ।

स्वास्थ्य जस्तो गम्भीर विषयमा समेत सरोकारवाला निकाय मौन रहेको उहाँले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज विर बहादुर वलीले बिरामी कुरुवा भवनलाई सञ्चालन गर्ने तयारी गरिएको भएपनि सञ्चालन गर्न नसकिएको बताउनुभयो । ‘यो नितान्त आवश्यक छ, हामीसँग भवन पनि छ, तर प्रयोगमा आउन सकेको छैन, तातोपानी तताउन मिल्ने भाँडाकुडा तथा ग्यास हामीसँग छ, तर बेड छैन, केही बेड राखेर त्यसको मर्मत सम्भार गरेर प्रयोगमा ल्याउन सके राम्रो हुने थियो, उहाँले भन्नुभयो ।

उहाँले प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनमा बिरामी कुरुवा कक्ष नभएको पनि बताउनुयो । ‘अहिले यही नयाँ भवनमा भएका केही कोठामा बिरामीका कुरुवालाई रातको समयमा बस्न मिल्ने बनाएका छौँ, तर त्यो दिगो रुपमा होइन, उहाँले भन्नुभयो ‘स्वास्थ्य संस्थासँग पैसा छैन, नत्र भवनको मर्मत गरेर तत्कालै संचालन गर्न पाए राम्रो हुनेथियो ।

यता प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष तथा छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष फौद बहादुर बस्नेतले यसबारेमा आफुलाई केही जानकारी नभएको र स्वास्थ्यकर्मीसँग छलफल गरेर समस्या समाधान गरिने बताउनुभयो ।
Salyanphoto20221014 (1) Salyanphoto20221014 (2) Salyanphoto20221014 (3)

अन्य

भिडियो