INSEC Online

📅 २०८३ जेष्ठ २१

विस्थापित परिवारलाई राहत उपलब्ध गराउन माग

बाढी र पहिरोले क्षति पु¥याएका विस्थापित परिवारलाई राहत उपलब्ध गराउन बाढी पीडितहरूले माग गरेका छन् ।

सिंजा क्षेत्रमा हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका पर्दछन् । यहाँका आठ स्थानीय तहमध्ये यिनै सिंजा क्षेत्रमा पर्ने तीन गाउँपालिकामा बाढीपहिरोले बढी क्षति पु¥याएको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लामा असोज २७ गते बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले सिंजाका कनकासुन्दरी, हिमा र सिंजा गाउँपालिकामा जनधनको अत्याधिक क्षति भएकाले संघीय सरकारलाई राहत, उद्धार तथा पुनस्थापनाका लागि आवहन गरेको छ ।

जिल्ला विपत व्यवस्थापन समितिको असोज २७ गते बसेको बैठकले विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ को (१) बमोजिम जुम्ला जिल्लाका कनकासुन्दरी, सिंजा, हिमा गाउँपालिका, तातोपानी गाउँपालिकाको वडा नम्बर १, ३, ४, ६, ७ र ८ वडा, तिला गाउँपालिका वडा नम्बर १, २, ३, ४ ६ र ७ वडा, गुठीचौर गाउँपालिकाको १ र २ र पातारासीको ३ नम्बर वडालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गरि पठाइएको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले जानकारी दिनु भएको छ ।

बाढीपहिरोले जुम्लामा १ हजार ६ सय ७५ जना विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी प्रमिला रिजालका अनुसार ३ सय १६ घर पूर्ण क्षति, ४ सय ४० घर उच्च जोखिम, ७ सय २६ घर आशिंक क्षति भएका छन् । जुम्लामा १० जनाको बाढीपहिरोले मृत्यू भएको छ भने एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा यस पटक क्षति भएको र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ । २०७९ असोज १९ देखि २५ गतेसम्म परेको अविरल बर्षा र बाढीले हालसम्म कर्णाली राजमार्ग अवरुद्ध छ । जिल्लाको सबैशक्ति प्रयोग गरेर सडक सूचारु गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ रिजालले जानकारी दिनु भएको छ । ठाउँठाउँमा पहिरो गएकाले अवरुद्ध भएको र पहिरो पन्छाउने काम भइरहेको स्थानीय तहले जनाएका छन् ।

सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सिंजा गाउँपालिकाको कार्यालय, प्रहरी चौकी समेत डुवानमा परेको बताउनुभयो । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमाको बुअ, बड्की, मोफ्ला र खलढुङ्गा लगायतका गाउँमा बाढीपहिरो आएर विस्थापित भएका जानकारी दिनु भएको छ ।
PhotoJumla20221013 (3) PhotoJumla20221013 (4) PhotoJumla20221013..

अन्य

भिडियो