INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा पीडितलाई कानुनी प्रकृयामा लैजान इन्सेकको सहयोग

घरेलु हिंसा पीडित महिलालाई कानुनी प्रकृयामा जानका लागि इन्सेकले ०७९ असोज १२ गते सहयोग गरेको छ । घरेलु हिंसा पीडित २२ वर्षीया महिलाले न्यायको पहुँचसम्म पुग्न आर्थिक अभाव भएकाले कानुनी सहायतका लागि आर्थिक सहयोग गरिदिन असार २२ गते इन्सेकलाई अनुरोध गर्नु भएको थियो ।

इन्सेकको समन्वयमा गठित जिल्ला स्तरीय सिफारिस संयन्त्रमा निवेदन दिँदै पीडितले कानुनी प्रकृयामा सहयोग गर्न आर्थिक सहयोगको माग गरेपछि इन्सेकले पीडितलाई पाँच हजार रुपियाँ सहयोग गरेको हो ।

जिल्ला स्तरीय सिफारिस संयन्त्रको पहलमा जिल्ला अदालत सल्यानमा कानुनी प्रकृया समेत अगाडी बढेको सञ्जालका संयोजक गुमान सिंह नेपालीले जानकारी दिनुभयो ।

न्यायको खोजीमा सदरमुकाम खलंगा पुगेकी बागचौर नगरपालिका–१ बागचौर निवासी मिना बस्नेतलाई २५ वर्षीय पति दिलिप बस्नेतले बिना कारण कुटपिट गर्ने गरेको बताउनु भएको छ । इन्सेक जिल्ला प्रतिनिधिसँग कुरागर्दै उहाँले भन्नुभयो, मैले मजदुरी गरेर घर खर्च चलाउने गरेकी छु । कहीँ कतै मजदुरी गरे भने पहिला नै पैसा लगेर जानुहुन्छ अनि मदिरा सेवन गरी कुटपिट गर्नुहुन्छ ।

१४ वर्षको उमेरमा भागी विवाह गरेकोमा पछुतो मान्दै उहाँले भन्नुभयो अहिले दुइओटा छोरा भइसके ठुलो आठ वर्षको र सानो पाँच वर्षको छ, मजदुरी गरेर पढाइ र खाना खर्च जुटाउने गरेकी थिए । पतिले ०७८ चैत २८ गते बिना कारण कुटपिट गर्दै घर निकाला गरेपछि अहिले माइतीमा बसेर मजदुरी गरेर दैनिक गुजरा गरिरहेकी छु । सधैं मानसिक र शारिरिक यातना दिने घरमा कसरी फर्किने । बरु सम्बन्ध विच्छेद गरि बिहान बेलुकाको छाक जसोतसो टार्न सकुला ।

केही महिना अघि पतिले बहुविवाह समेत गरेको र कान्छी पत्नी दुई महिनामै भागेर गएपछि झनै आफुलाई यातना दिने गरेको मिना बस्नेतले बताउनु भएको छ ।
Photosalyan20220929

अन्य

भिडियो