जनकपुरधाम उपमहानगरपालिका–४ माछाबजार बस्दै आएका १८ वर्षीय सुमितकुमार यादव र ३८ वर्षीया आमा निर्मलादेवी यादवलाई प्रहरीले कुटपिट गरेको पीडितहरूले आरोप लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका असई गयाप्रसाद चौधरी र प्रहरी हवल्दार धर्मेन्द्रप्रसाद साहले गस्तीमा रहेको बेला उहाँहरूलाई असोज ५ गते राति ९ बजे कुटपिट गरेको आरोप छ ।
असोज ५ गते राति नियमित चेकजाँच भइरहेको समयमा मोटरसाइकलको कागजपत्र र लाइसेन्स घरमै बिर्सेर मोटरसाइकल चलाउँदै गरेका सुमितकुमार यादवले प्रहरीलाई छलेर घरतर्फ गएको प्रहरीको भनाइ छ ।
प्रहरीद्वयलाई शङ्का लागेर सुमितलाई पछ्याउँदै घरसम्म आएर घरभित्रबाट निकालेर पाइपले कुटपिट गरेको पीडितका दाइ लवकुमार यादवले बताउनु भयो ।
प्रहरीले मदिरा सेवन गरी सुमितकुमार यादवलाई कुटपिट गरेको पीडित पक्षको आरोप छ । प्रहरीले कुटपिट गरिरहँदा छुट्याउन पुग्नु भएकी निर्मलादेवी यादवलाई प्रहरीले हेल्मेटले टाउकोमा प्रहार गरेको घटनाका प्रत्यक्षदर्शी रवि चौधरीले बताउनु भयो ।
घटनाको भिडियो रेकर्ड गरेको आरोपमा रवि चौधरीलाई समेत प्रहरीद्वयले कुटपिट गरेको पीडितको आरोप छ ।
घाइतेहरूको उपचार जनकपुरधामस्थित जानकी हेल्थ केयरमा भइरहेको छ । घाइते सुमितलाई गम्भीर चोट लागेको उपचारमा संलग्न जानकी हेल्थ केयरका चिकित्सक डाक्टर शशिशेखर अधिकारीले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीपबहादुर क्षेत्रीले प्रहरी उपर हातपात गरेको आरोपमा २५ वर्षीय रवि चौधरी र २६ वर्षीय दिपेश झालाई गिरफ्तार गरिएको बताउनु भयो ।
डिएसपी क्षेत्रीले प्रहरी गयाप्रसाद यादव शुद्ध शाकाहारी भोजन खाने र मासु, मदिरा नखाने भएकोले सुमित यादवको परिवारले मदिरा सेवन गरेको भनि लगाएको आरोप निराधार रहेको बताउनु भयो । उहाँले घटनाबारे अनुसन्धान भइरहेको बताउनु भयो ।