पर्वत अस्पतालमा डेङ्गु परीक्षणका लागि किटको अभाव भएको छ । सरकारी अस्पतालमा डेङ्गु रोग परीक्षण गर्ने किट अभाव भएपछि सर्वसाधारण मर्कामा परेका छन् ।
साउन महिनाको अन्तिम सातादेखि पर्वतमा डेङ्गु सङ्क्रमण फैलिँदै आएपनि पर्याप्त मात्रामा किट उपलब्ध नहुँदा परीक्षणमा समस्या देखिएको हो ।
सरकारी अस्पतालमा किट अभाव भएपछि आफूलाई डेङ्गु लागेको शङ्का गर्ने बिरामीले निजी अस्पताल तथा क्लिनिकमा गएर स्वास्थ्य परीक्षण गराउन थालेका छन् ।
निजीमा १ हजार २ सय रुपियाँसम्म तिर्नुपरेको सङ्क्रिमित एक महिलाले बताउनु भयो । ‘अस्पतालमा गएको परीक्षण गर्ने किट नै छैन भनेपछि निजी क्लिनिकमा गएकी हुँ ।’-उनले भनिन्-‘निजी क्लिनिकले पनि पर्वत प्याथोलोजीमा पठायो । मैले १ हजार २ सय रुपियाँ तिरेँ ।’
पर्वतमा हालसम्म ६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पर्वतकी डेङ्गु रोग फोकल पर्सन मुना सापकोटाले जानकारी दिनु भयो ।
पर्वत अस्पतालमा किट अभाव भएपछि सर्वसाधरण निजी अस्पताल तथा क्लिनिकहरुमा धाउन बाध्य भएको कुरा स्वीकार्दै उहाँले अस्पताल व्यवस्थापन समितिले यस विषयमा ध्यान दिन नसकेको बताउनु भयो ।
पछिल्लो समय पर्वतमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले प्रदेश सरकारसँग किटको माग गरिएको तर समयमा उपलब्ध नभएपछि व्यवस्थापन समिति आफैले खरिद गर्ने योजना बनाएको बताउनु भयो ।
डेङ्गुका लक्षण सहितका दैनिक १० देखि १५ जना बिरामी किट अभावकै कारण निजी स्वास्थ्य संस्थामा पठाउन बाध्य भएको उहाँले बताउनु भयो ।