INSEC Online

📅 २०८३ जेष्ठ २१

बालबालिकालाई दिइने कोभिड–१९ विरुद्धको खोप समयमा संचालन हुन सकेन

पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड १९ विरुद्ध दिइने फाइजर बायोएनटेक भ्याक्सिन स्वास्थ्यकर्मीको लापरवाहीका कारण समयमा संचालन हुन सकेको छैन् ।

स्वास्थ्य सेवा कार्यालय, हुम्लाले पत्रचार गरेको नौ दिनसम्म जिल्लाका पाँच ओटा गाउँपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरूले भ्याक्सिन नलिएपछि उक्त खोप प्रभावित भएको हो ।

जिल्लाका सात ओटा गाउँपालिकामध्ये खार्पुनाथ र नाम्खा बाहेक अन्य पाँच ओटा गाउँपालिका स्वास्थ्य शाखाहरूका स्वास्थ्यकर्मीहरूको लापरवाही र कर्मचारीहरू भ्याक्सिन लिन नआएपछि खोप अभियान सञ्चालनमा प्रभावित भएको स्वास्थ्य सेवा कार्यालय, हुम्लाका प्रमुख प्रेम बहादुर सिंहले बताउनु भयो ।

सरकारको निति अनुसार पाँच वर्षभन्दा माथिका र १२ वर्षभन्दा मुनिका बालबालिकाहरूलाई कोभिड–१९ रोगको विरुद्धमा फाइजर बायोएनटेक भ्याक्सिन सञ्चालनका लागि स्वास्थ्य सेवा कार्यालयमार्फत गाउँपालिका स्वास्थ्य शाखाका संयोजकहरूलाई यसअघि नै अभिमुखिकरण तालिम दिइसकेको भए पनि स्वास्थ्यकर्मीको लापरबाहीले उक्त खोप गाउँपालिकामा पुग्न नसकेको स्वास्थ्य प्रमुख सिंहको भनाई छ ।

स्वास्थ्यकर्मीहरूले कोभिड–१९ विरुद्धको खोप भदौ ११ गतेदेखि सुरू गरेर भदौ १७ गतेसम्म पहिलो मात्राको र त्यस लगतै २१ दिन भित्र दास्रो मात्राको फाइजर बायोएनटेक भ्याक्सिन लगाई सक्नु पर्ने हो ।

तर, स्वास्थ्य सेवा कार्यालयले पत्रचार गरेको नौ दिन र खोप अभियान सञ्चालन हुनु पर्ने पाँचदिन विति सक्दापनि खोप अभियान सञ्चालन हुन नसकेपछि हुम्लाका ११ हजार १ सय ९० जना बालबालिका सो सेवाबाट प्रत्यक्ष मर्कामा परेको प्रमख सिंहले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।

उहाँले भन्नु भयो पहिलो मात्राको खोप लगाउने मितिको पाँच दिन बितिसक्दा पनि पाँचवटा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नै स्वास्थ्य सेवा कार्यालयसँग सम्पर्कमा आएका छैनन ।

स्वास्थ्य सेवा कार्यालयबाट भदौ ७ गते उक्त फाइजर बायोएनटेक भ्याक्सिन लिएर संचालन गर्ने निर्देशन दिएपनि सिमकोटका नर भण्डारी, अदानचुलीका हंस महतारा र ताँजाकोट गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र स्याङकु, नेकपा माओवादी केन्द्र निकटको राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी सङ्गठनको राष्ट्रिय एकता सम्मेलनका लागि जिल्ला बाहिर रहेका छन् भने चंखेली र सर्केगाडका स्वास्थ्य शाखा संयोजक पनि सम्पर्कमा नरहेको प्रमुख सिंहले आरोप लगाउनु भयो ।

हुम्लाको मध्य क्षेत्र रहेको सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक किरण बुढालाई सम्पर्क हुन नसक्दा प्रमुख सिंहले सो गाउँपालिकामा कर्मचारी मिलानका कारण खोप लिन नपाएको भन्ने बुझिन आएको बताउनु भयो ।

त्यस्तै चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालि बहादुर बुढाका अनुसार यतिखेर केही बालबालिका सिजनफ्लुका बिरामी भएकाले उक्त फाइजर खोप लिनका लागि ढिलाई भएको स्वीकार गर्नु भयो ।

उहाँले भन्नु भयो हाल सो बालबालिकाहरूको स्वास्थ्यमा सुधार आउने क्रम जारी छ । केही दिन भित्रै कार्यालय सहयोगी सदरमुकाम सिमकोटमा पुगेर खोप ल्याइसकेपछि खोप संचालन गर्ने जानकारी दिनु भयो ।

सदरमुकामसँगै जोडिएको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक रहनु भएका नर भण्डारीले आफुले यस भन्दा अघि नै आफ्ना स्वास्थ्य संस्थालाई पत्रचार गरि सकेको र यो समय तिज विशेषका कारण पनि ढिलो भएको बताउनु भयो ।

सोही गाउँपालिका–८ को स्याँडा स्वास्थ्य चौकी बाहेक अन्य स्वास्थ्य संस्थामा उक्त खोप पुगेको छैन । संयोजक भण्डारीले यसमा आफ्नो केही कमजोरी नभएको बताउँदै सम्बन्धित स्वास्थ्य संस्थाका स्वाथ्यकर्मीका कारण भएको आरोप लगाउनु भएको छ ।

ताँजाकोट गाउँपालिका स्वास्थ्य संयोजक राजेन्द्र स्याङकुलाई फोन गर्दा नउठेपछि प्रमुख प्रशाकीय अधिकृत लालप्रसाद ढकालले स्वास्थ्य शाखा सम्बन्धीको कुरा आफुलाई जानकारी नभएकाले यसमा केही भन्न नसकिने र स्वास्थ्य संयोजकलाई बुझेर मात्रै खबर गर्ने बताउनु भयो ।

त्यसैगरी अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले स्वाथ्यकर्मी अभाव भएकोले एक हप्ता पछिमात्रै खोप संचालन गर्ने बताउनु भयो ।

उहाँले थप्नु भयो अदानचुली गाउँपालिकामा स्थाई कर्मचारी कम भएको र कर्मचारी मिलानकै अवस्थामा भएकोले केही समस्या भएको हो । अबको केही दिन भित्रै उक्त खोप लैजानका लागि कार्यालय सहयोगीलाई स्वास्थ्य सेवा कार्यालयमा पठाउने जानकारी दिनु भयो ।

यसै गरी खार्पुनाथ गाउँपालिकामा भने उक्त खोप पुगेर पनि खोप संचालन गर्ने तयारीमा छ । त्यस्तै नाम्खा गाउँपालिकाका ४ र ५ का स्वास्थ्य संस्थाले सो खोप लगेको भए पनि वडा १, २, ३ र ६ मा फाइजर बायोएनटेक भ्याक्सिन बुझेर लगेका छैनन् ।

हुम्लाका ११ हजार १ सय ९० जना बालबालिकालाई कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाउने योजना गरिएको छ । जसमा नाम्खाका ५ सय ५६, सिमकोटका २ हजार १५, खार्पुनाथका १ हजार ४ सय २३, सर्केगाडका २ हजार ४ सय ३५, चंखेलीका १ हजार ३ सय ८७, अदानचुलीका १ हजार ८ सय ९९ र ताँजाकोट गाउँपालिकाका १ हजार ४ सय ७५ जना बालबालिका रहेका छन् । समयमै खोप सञ्चालन हुन नसक्दा ति बालबालिकाहरू खोप लगाउनबाट बञ्चित भएका छन् ।

ताँजाकोट, अदानचुली र सिमकोट गाउँपालिकाका स्वास्थ्य संयोजक कार्यालयको काम नभई राजनीतिक हिसावले जिल्ला बाहिर रहँदै आउनु भएको छ । उहाँहरू जिल्लामा नभएका कारण जिल्लाका बालबालिका खोप लगाउनबाट प्रत्यक्ष मर्कामा परेका छन् ।

हुम्लाका लागि २४ हजार डोज खोप स्वास्थ्य सेवा कार्यालयमा आइपुगेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिंहको भनाई छ ।
Photohumla20220901

अन्य

भिडियो