बरेङ गाउँपालिका–३ का वडाध्यक्ष ५१ वर्षीय शेरबहादुर खनालमाथि सोही ठाउँका ४२ वर्षीय मनबहादुर पुनले आक्रमण गरेको भन्दै प्रहरी चौकी बाटाकाचौरमा उजुरी परेको छ ।
भदौ १४ गते बाटाकाचौरमा राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलनको क्रममा मनबहादुरले वडाध्यक्ष खनालमाथि आक्रमण गरेको भन्दै भदौ १५ गते उजुरी परेको हो ।
बाटाकाचौरको शारदा माध्यमिक विद्यालयमा परिचयपत्र विवरण सङ्कलनमा खटिएको क्रममा मनबहादुरले आवश्यक कागजात नलिइकन आएको र आफुले सोधपुछ गर्दा कक्षाकोठाको ढोकामा लात्तिले हान्दा उछिट्टिएर वडाध्यक्ष खनाललाई चोट लागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले बताउनु भयो ।
घाइते खनालको उपचार धौलागिरी अस्पताल बागलुङमा गरिएको छ । उहाँको दाहिने कान, हात र गोडामा चोट लागेको छ ।
वडाध्यक्ष खनालले निस्वार्थ नागरिकको सेवा गर्दैगर्दा आक्रमण भएको भन्दै आफ्नो जीउ ज्यानको सुरक्षाको माग गर्नुभएको छ । आरोपित पुनको खोजी भइरहेको डिएसपी रानाले बताउनु भयो ।