अन्तर्राष्ट्रिय बलपूर्वक बेपत्तो दिवसको अवसरमा भदौ १४ गते बढैयाताल गाउँपालिकामा आयोजित कार्यक्रममा द्वन्द्व पीडितहरूले स्थानीय सरकारले द्वन्द्व पीडित परिवारलाई परिपूरणको व्यवस्था गर्न माग गरेका छन् ।
बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी र उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीलाई पीडित परवारले लिखित रुपमा माग पत्र पेश गर्दै परिपूरणको व्यवस्था गर्न माग गर्नु भएको हो ।
द्वन्द्व पीडित सञ्जाल बढैयातालकी अध्यक्ष योजना चौधरीले सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगले तोकिएको समयमा काम सम्पन्न नसकेको बताउदै जीविका चलाउन, स्वास्थ्य उपचार, बालबालिकाको शिक्षा, आर्थिक, सामाजिक र सांस्कृतिकरुपमा जटिल समस्या भोग्नु परिरहेकोले स्थानीय सरकारले आफ्नो पालिकामा रहेका पीडित परिवारलाई परिपूरणको व्यवस्था गर्न माग गरिएको बताउनु भयो ।
माग पत्रमा बढैयाताल गाउँपालिका क्षेत्रका द्वन्द्व पीडित परिवारका बालबालिकाहरूको शिक्षाको अधिकार सुनिश्चित गर्न नीति र कार्ययोजना सहित बजेट बिनीयोजन गरिनु पर्ने , द्वन्द्व पीडित परिवारलाई आवश्यकता र मागमा आधारित सीपमुलक निःशुल्क तालिम व्यवस्था गरिनु पर्ने । द्वन्द्व पीडित परिवारलाई सीपको दक्षता अनुसार सम्बन्धीत क्षेत्रमा रोजगारीको व्यवस्था गरिनु पर्ने रहेका छन् ।
द्वन्द्व पीडित परिवारका लागि निःशुल्क मनोसामाजिक मनोविमर्श सेवाको व्यवस्था गरिनु पर्ने । द्वन्द्व पीडितहरूको अभिलेख सङ्कलन गरी दस्तावेजिकरण गरिनु पर्ने । द्वन्द्व पीडितहरुको सम्मानका लागि बाँके जिल्लाँंग सीमा जोडिएको बढैयाताल गाउँपालिका– ३ मानझण्डि सामुदायिक वनको मानखोला किनार नेपालगञ्ज गुलरिया हुलाकी राजमार्गमा सहिद बेपत्ता गेट, र स्तम्भ निमार्ण गरिनु पर्ने । द्वन्द्व पीडितहरूको सम्मानका लागि स्मृति पार्क, बाटो, सार्बजनिक स्थल निमार्ण गरिनु पर्ने मागसमेत उक्त पत्रमा समेटिएका छन् ।
कार्यक्रमका बढैयाताल गाउँपालिकाका अध्यक्ष त्रिपाठीले देशले धेरै परीबर्त गरे पनि द्वन्द्व पीडितहरूको अवस्था नबदलिएको बताउदै पीडितहरूको सवाल प्रति राज्य गम्भिर हुन नसकेको बताउनु भयो ।
त्रिपाठीले बढैयाताल गाउँपालिकाको नीति तथा कार्यक्रममा धेरै मागहरूको सम्बोधन हुने भन्दै द्वन्द्व पीडितहरूका बालबालिका कुनै पनि बाहानामा शिक्षाबाट वञ्चित नहुने बताउनु भयो ।
बढैयाताल गाउँपालिका– ९ का बेपत्ता परिवारकी जुना सापकोटाले बेपत्ता भन्दै फोटो लिएर कहिलेसम्म हिड्ने ? प्रश्न गर्नुभयो । “पति बेपत्ता पारिएको १९ वर्ष भयो । नत राज्यले बेपत्ता परिवार भनेर क्षतिपूर्ति दिएको छ । नत एकल महिलाको सुबिधा पाइएको छ ।,” सापकोटाले भन्नु भयो । उहँले स्थानिय सरकारले पीडितहरूलाई परिपूरणको व्यवस्था जीवन जीउन सहजता बनाउन पर्नेमा जोड दिनु भयो ।
सशस्त्र द्वन्द्व क्रममा बढैयाताल गाउँपालिकामा आठ जना बेपत्ता र ४१ जनाको मृत्यु भएको थियो । बढैयाताल गाउँपालिकाको समन्वयमा इन्सेक बर्दिया, टिपीओ नेपाल, नेपाल रेडक्रस शाखा बर्दिया र द्वन्द्व पीडित समिति बर्दियाको सहकार्यमा आयोजना गरिएको कार्यक्रमको सहजीकरण अधिकारकर्मी शुसील चौधरीले गर्नु भएको थियो ।