INSEC Online

📅 २०८३ जेष्ठ २१

परिपूरणको व्यवस्था गर्न द्वन्द्व पीडित परिवारको माग

अन्तर्राष्ट्रिय बलपूर्वक बेपत्तो दिवसको अवसरमा  भदौ १४ गते बढैयाताल गाउँपालिकामा आयोजित कार्यक्रममा द्वन्द्व पीडितहरूले स्थानीय सरकारले द्वन्द्व पीडित परिवारलाई परिपूरणको व्यवस्था गर्न माग गरेका छन् ।

बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी र उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीलाई पीडित परवारले लिखित रुपमा माग पत्र पेश गर्दै परिपूरणको व्यवस्था गर्न माग गर्नु भएको हो ।

द्वन्द्व पीडित सञ्जाल बढैयातालकी अध्यक्ष योजना चौधरीले सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोग र सत्य निरुपण  तथा मेलमिलाप आयोगले तोकिएको समयमा काम सम्पन्न नसकेको बताउदै जीविका चलाउन, स्वास्थ्य उपचार, बालबालिकाको शिक्षा, आर्थिक, सामाजिक र सांस्कृतिकरुपमा जटिल समस्या भोग्नु परिरहेकोले स्थानीय सरकारले आफ्नो पालिकामा रहेका पीडित परिवारलाई परिपूरणको व्यवस्था गर्न माग गरिएको बताउनु भयो ।

माग पत्रमा बढैयाताल गाउँपालिका क्षेत्रका द्वन्द्व पीडित परिवारका बालबालिकाहरूको शिक्षाको अधिकार सुनिश्चित गर्न नीति र कार्ययोजना सहित बजेट बिनीयोजन गरिनु पर्ने ,  द्वन्द्व पीडित परिवारलाई आवश्यकता र मागमा आधारित सीपमुलक निःशुल्क तालिम व्यवस्था गरिनु पर्ने । द्वन्द्व पीडित परिवारलाई सीपको दक्षता अनुसार सम्बन्धीत क्षेत्रमा रोजगारीको व्यवस्था गरिनु पर्ने रहेका छन् ।

द्वन्द्व पीडित परिवारका लागि निःशुल्क मनोसामाजिक मनोविमर्श सेवाको व्यवस्था गरिनु पर्ने । द्वन्द्व पीडितहरूको अभिलेख सङ्कलन गरी दस्तावेजिकरण गरिनु पर्ने । द्वन्द्व पीडितहरुको सम्मानका लागि बाँके जिल्लाँंग सीमा जोडिएको बढैयाताल गाउँपालिका– ३ मानझण्डि सामुदायिक वनको मानखोला किनार नेपालगञ्ज गुलरिया हुलाकी राजमार्गमा सहिद बेपत्ता गेट, र स्तम्भ निमार्ण गरिनु पर्ने । द्वन्द्व पीडितहरूको सम्मानका लागि स्मृति पार्क, बाटो, सार्बजनिक स्थल निमार्ण गरिनु पर्ने मागसमेत उक्त पत्रमा समेटिएका छन् ।

कार्यक्रमका बढैयाताल गाउँपालिकाका अध्यक्ष त्रिपाठीले देशले धेरै परीबर्त गरे पनि द्वन्द्व पीडितहरूको अवस्था नबदलिएको बताउदै पीडितहरूको सवाल प्रति राज्य गम्भिर हुन नसकेको बताउनु भयो ।

त्रिपाठीले बढैयाताल गाउँपालिकाको नीति तथा कार्यक्रममा धेरै मागहरूको सम्बोधन हुने भन्दै द्वन्द्व पीडितहरूका बालबालिका कुनै पनि बाहानामा शिक्षाबाट वञ्चित नहुने बताउनु भयो ।

बढैयाताल गाउँपालिका– ९ का बेपत्ता परिवारकी जुना सापकोटाले बेपत्ता भन्दै फोटो लिएर कहिलेसम्म हिड्ने ? प्रश्न गर्नुभयो । “पति बेपत्ता पारिएको १९ वर्ष भयो । नत राज्यले बेपत्ता परिवार भनेर क्षतिपूर्ति दिएको छ । नत एकल महिलाको सुबिधा पाइएको छ ।,” सापकोटाले भन्नु भयो । उहँले स्थानिय सरकारले पीडितहरूलाई परिपूरणको व्यवस्था जीवन जीउन सहजता बनाउन पर्नेमा जोड दिनु भयो ।

सशस्त्र द्वन्द्व क्रममा बढैयाताल गाउँपालिकामा आठ जना बेपत्ता र ४१ जनाको मृत्यु भएको थियो । बढैयाताल गाउँपालिकाको समन्वयमा इन्सेक बर्दिया, टिपीओ नेपाल, नेपाल रेडक्रस शाखा बर्दिया र द्वन्द्व पीडित समिति बर्दियाको सहकार्यमा आयोजना गरिएको कार्यक्रमको सहजीकरण अधिकारकर्मी शुसील चौधरीले गर्नु भएको थियो ।

अन्य

भिडियो