गाउँमा स्वास्थ्यचौकी भए पनि औषधीको अभावमा जुगल गाउँपालिका–३ तेम्बाथानका नागरिकहरू बिरामी हुँदा उपचारको लागि हेलिकप्टर पर्खेर काठमाडौँ पुग्छन् की त जङ्गली जडिबुटीकै भरमा पर्छन् ।
सामान्य उपचारको लागि त तेम्बाथानमा स्वास्थ्य चौकी छ । नजिक स्वास्थ्य चौकी भए पनि सिटामोल बाहेक अरु औषधी पाइँदैन ।
बिरामी भएकै दिन अस्पताल पुर्याउन कठिनाइ हुन्छ । जानै परे पनि भिरको बाटो दुई दिन लगाएर कात्तिके बजारमा रहेको मेडिकल पुग्नुपर्छ ।
बिरामीलाई तत्काल बोकेर पुर्याउने अवस्था छैन, हेलिकप्टर नै बोलाउनु पर्छ अरु बिकल्प छैन ।
स्थानीय लाक्पा लामा भन्छन् ‘बिरामी पर्दा उपचार गर्न हेलिकप्टर बोलाउनु पर्छ, ऋण गरेर हेलिकप्टरमा बिरामी लगेका गाउँलेले अहिलेसम्म ऋण तिर्न सकेका छैनन् ।’
शेर्पा समुदायको बसोवास रहेको यस गाउँमा सुत्केरी ब्यथा लाग्दासमेत हेलिकप्टर खोज्नुपर्ने कि त जङ्गली जडीबुटीकै भर गर्र्नुपर्ने बाध्यता छ ।
जिल्लाको उत्तरी भेगमा पर्ने जुगल हिमालको फेदीमा रहेको तेम्बाथान गाउँमा पुग्न गाडी पुग्ने बिन्दु बोल्देबाट एक दिनको जङ्गलको उकालो बाटो छिचोल्नु पर्छ ।
सडकले गाउँ नजोडिएका कारण त्यस गाउँमा वर्षादको समयमा आवत जावत गर्न मुस्किल छ ।
बिरामीको उद्धारको लागि हेलिकप्टर बोलाई रहनुपर्ने भएकाले गाउँको सिरानमा रहेको तेम्बाथान आधारभूत विद्यालय नजिकै हेलिप्याड बनाइएको छ ।
तेम्बाथान गाउँका बासिन्दाहरूलाई सरकारी सेवा सुबिधामा समेत सहज पहूँच छैन ।
उनीहरूलाई स्वास्थ्य, शिक्षा पाउन कठिन छ । गाउँमा सडक, बिजुली छैन ।
स्थानीयले गाउँबाट दुई दिन हिँडेर जुगल गाउँपालिका–४ स्थित कात्तिके बजारसम्म आई दैनिक उपभोग्य बस्तु किन्ने गर्दछन् ।
सडक नहुँदा हिँडेरै आउजाउ गर्दा ठाउँठाउँमा खोला, भिरको बाटो, भारी बोकेर कष्टपूर्ण पैदन यात्रा गर्न बाध्यछन् त्याहाँका नागरिकहरू ।