नागरिकतामा अपमानजनक नाम लेखिएका भगवतीमाई गाउँपालिका–३ मेहेलतोलीका ६३ वर्षीय कविराम कामी र सोही गाउँपालिका–५ कट्टीका ४४ वर्षीय कर्णबहादुर बिक समेत दुई जनाको नागरिकता जिल्ला प्रशासन कार्यालयले भदौ ५ गते नाम सच्याएको छ ।
नागरिकता टोलीबाट २०४६ जेठ ७ गते कविरामले पाउनुभएको नेपाली नागरिकताको प्रमाणपत्रमा ‘कुकुर कामी’ र जिल्ला प्रशासन कार्यालयबाट २०५६ चैत २० गते जारी भएको कर्णबहादुरको नेपाली नागरिकताको प्रमाणपत्रमा ‘ठगे कामी’ उल्लेख थियो ।
नागरिकता वाहक र उहाँका परिवार सदस्य समेतले अपमान बोध गरेको भन्ने दुई हप्ता अघि इन्सेकको खोजमूलक आलेख प्रकाशित भएपछि गृह मन्त्रालयले त्यस्ता अपमानित नाम सच्याउन गरेको परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालय, दैलेखले नाम सच्याएको हो ।
साउन १७ गते इन्सेकको फेलोसिप समाचार उज्यालो अनलाइनमा प्रकाशित भएपछि राष्ट्रिय मिडियामा चर्चा पाएपछि साउन २३ गते गृह मन्त्रालयले नाममा अपमानजनक शब्द प्रयोग गरेर विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकता प्रमाणपत्र सच्याउन परिपत्र गरेको थियो ।
गृहको परिपत्र जारी गरेको भोलिपल्ट कविरामले साउन २४ गते अपमानजनक नाम सच्चाएर नयाँ नागरिकताको प्रतिलिपिका लागि जिल्ला प्रशासनमा निवेदन दिनुभएको थियो । कविरामजस्तै नेपाली नागरिकतामा कर्णबहादुरले पनि साउन ३० गते जिल्ला प्रशासन कार्यालय दैलेखमा निवेदन दिनुभएको थियो ।
निवेदन दिन गएका कर्णबहादुरलाई दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले कर्णबहादुर हुदैन ‘ठ’ बाट राख्न सकिन्छ भनी आवेदन फाराम केरमेट गर्नुभएको भनी आमसञ्चार माध्ययमा चर्चा हुनुुसँगै संसदमा समेत कुरा उठेपछि प्रशासनलाई दवाव बढेको थियो ।
गृहको परिपत्र अनुसार प्रक्रिया पु¥याएर कविराम कामी र कर्णबहादुर विकलाई नाम सच्याई नागरिकताको प्रतिलिपी दिइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभयो । कविराम कामी र कर्णबहादुर विकलाई नाम सच्चाउन आउनेहरुलाई त्यसरी नै प्रतिलिपी दिइने उहाँले जानकारी दिनुभयो ।
सुरुमा विषय उठेको कविराम र कर्णबहादुरपछि अपमानित सच्याउन आएकाहरुलाई अझैं सजिलो प्रक्रियाबाट नागरिकता प्रक्रियाबाट प्रतिलिपी उपलब्ध गराउनुपर्ने मानव अधिकार रक्षक सञ्जालका संयोजक बिशाल सुनारले प्रतिक्रिया दिनुभयो । त्यस्ता अपमानित नाम सच्याउन स्थानीय तहहरुले पनि तत्परता लिन संयोजक सुनारको सुझाव छ ।
