INSEC Online

📅 २०८३ जेष्ठ २१

पाठ्य पुस्तक अभावमा पठन पाठन प्रभावित

शैक्षिक सत्र सुरु भएको दुई महिना वितिसक्दा समेत पाठ्यपुस्तक नआएपछि विद्यार्थीहरुको पठनपाठन प्रभावित हुँदै आएको छ ।

जिल्लाका अधिकांश विद्यालयमा पूर्ण पाठ्यपुस्तक नहुँदा जिल्लाभरी कै पठनपाठनमा समस्या आइरहेको जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख दिपकराज कलौनीले बताउनु भयो ।

उहाँले कक्षा ६, ७ र ९ का केही पुस्तकहरु मात्र आएको भएपनि कक्षा ८ का कुनै पनि पुस्तकहरु अहिलेसम्म प्राप्त नभएकोले स्थानीय तहसँग समन्वय गरेर समस्याको समाधानका लागि प्रयास भइरहेको बताउनु भयो ।

भिमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले अहिलेसम्म आंशिक पुस्तकहरु मात्रै प्राप्त भएकोले कसरी आपुर्ति गर्ने भन्ने सम्बन्धमा छलफल भइरहेको बताउनु भयो ।

पाठ्यपुस्तक बिना नै विद्यार्थीहरु विद्यालयमा आउने गरेका कारण विद्यार्थीहरुको पढाईप्रतिको रुची घट्दै गएको भिमदत्त नगरपालिका–१४ हल्दुखालस्थित शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उत्तम विष्टले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘पाठ्यपुस्तक नआएपछि नोट बनाएर दिने गरेका छौँ । सोही नोटको भरमा पठनपाठन हुँदै आएको छ । कुनै पनि कक्षामा कोर्ष सुरु भएको छैन । पहिलो त्रैमासिक परीक्षा गर्नु पर्ने समय आएको छ । तर, पाठ्यपुस्तक अभावका कारण गरेका छैनाैँ । विद्यार्थीहरुलाई सामान्य ज्ञान र सैद्धान्तिक कुराहरु सिकाइरहेका छौँ ।’

भिमदत्त नगरपालिका–१४ स्थित श्री बैजनाथ आधारभूत विद्यालय बनकट्टीका शिक्षक भारती सिंहले आवश्यक्ता अनुसार किताब नभएका कारण पुराना पुस्तकबाट काम चलाइरहेको बताउनु भयो ।

विद्यालयका अभिभावक शिक्षक समितिका अध्यक्ष तथा स्थानीय अभिभावक गणेशराम ओडले आर्थिक अवस्था राम्रो भएका अभिभावकहरुले मोवाई किनेर अनलाइन शिक्षा दिइरहेका भएपनि आर्थिक अवस्था कमजोर भएका अभिभावकका बालबच्चाहरुलाई समस्या भएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘शैक्षिक सत्र सुरु भएको तीन महिना भयो । किताब आएका छैनन् । पहिला कोभिडले गर्दा पढाईमा बाधा पुग्यो । अहिले किताबको समस्याले पढाई प्रभावित भएको छ ।’

सरकारले किताब छपाईमा गरेको लापरवाहीका कारण अध्ययनरत विद्यार्थीहरु लगायत शिक्षकहरु मारमा परेको शिक्षक तथा अभिभावकहरुको गुनासो रहेको छ ।

किताबको अभाव भएपछि घरमा पढ्न र नियमित गृहकार्य गर्न समस्या भएकोले परीक्षा कसरी दिने भन्ने तनवा उत्पन्न भएको कक्षा ९ मा अध्ययनरत मनोज भट्टले गुनासो गर्नु भयो ।

पुस्तक तथा स्टेशनरी व्यवसाय महासंघ, कञ्चनपुरका अध्यक्ष धर्मानन्द भट्टले जनक शिक्षा सामग्री केन्द्रले समयमा पर्याप्त मात्रामा पुस्तक उपलब्ध नगराएकोले जिल्लामा पुस्तकको चरम अभाव रहेको बताउनु भयो ।

नेपाली, स्वास्थ्य, विज्ञान, शिक्षा लगायतका ५० प्रतिशत किताब आउन बाँकी रहेको भट्टको भनाइ छ ।

जिल्लामा २ सय ५९ ओट सामुदायिक विद्यालय र २ सय ४२ ओटा संस्थागत गरी ५सय १ ओटा विद्यालय रहेका र यस शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थी सङ्ख्या ३० हजार २ सय ६८ जना रहेकामा अधिकांश विद्यार्थीहरुले पाठ्यपुस्तक पाउन नसकेका जिल्ला शिक्षा विकास समन्वय ईकाईका सूचना अधिकारी राजेन्द्रप्रसाद भट्टले बताउनु भयो ।

नेपालको संविधानको धारा ३१ को उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने व्यवस्था गरिको भएपनि शैक्षिक सत्र सुरु भएको दुई महिना वितिसक्दा समेत विद्यार्थीहरुले पाठ्यपुस्तक पाउन सकेका छैनन् ।

अन्य

भिडियो