INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्यकर्मी माथि कुटपिट घटनाका आरोपित गिरफ्तार

चङ्खेली गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी, चङ्खेली गाउँपालिका–४ पिप्लाङ्गकी ३१ वर्षीया जुना सिंहलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही गाउँपालिकामा कार्यरत खरिदार, चङ्खेली गाउँपालिका–४ पिप्लाङ्गका ३८ वर्षीय महेन्द्र शाहीलाई साउन १६ गते गिरफ्तार गरेको छ ।

साउन १६ गते गाउँपालिका स्वास्थ्य शाखामा काम गरिरहेको बेला बाहिरबाट मदिरा सेवान गरेर आएका शाहीले चारित्रिक आरोप लगाई गालीगलौज गर्दै कुटपिट गरेको सिंहका पति दन्तबहादुर शाहीले आरोप लगाउनु भएको छ ।

गाउँपालिका अध्यक्ष प्यारीलाल शाही, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही लगायतका व्यक्तिहरू बसेर छलफल गर्ने क्रममा आरोपितले अपशब्द बोलेपछि छलफल नटुङ्गिएको र घटनाको थप अनुसन्धान भइरहेको मेल्छाम प्रहरीचौकीका हवाल्दार इश्वर बुढाथोकीले बताउनु भयो ।

पीडित पक्षले कारवाहीको माग गर्दै साउन १६ गते मेल्छाम प्रहरी चौकीमा उजुरी गरेको छ । पीडितको स्वास्थ्य अवस्था सामान्य रहेकाले उपचार भने गर्नु नपरेको पीडितका पतिले बताउनु भयो ।

अन्य

भिडियो