INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

स्थानीय तहको पुनः संरचना गर्दा नगर क्षेत्रमा गाभिएका गाविसका ज्येष्ठ नागरिकले ०७३ असोजदेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् ।

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा गाभिएको साविकको विगुटार गाविसमा अझै भत्ता वितरण नभएको हो । भत्ता नपाएपछि ज्येष्ठ नागरिक नगरपालिकामा आएर भत्ता माग्न थालेका छन् ।

कर्मचारीको लापरवाहीका कारण आफूहरू भत्ता पाउनबाट वञ्चित भएको ज्येष्ठ नागरिक बैजनाथ श्रेष्ठले गुनासो गरे ।

साविकका गाविस नगरमा गाभिएर खाता सञ्चालनलगायतका समस्याका कारण वितरण नभएको सिद्धिचरण नगरपालिकाका कार्यकारी अधिकृत रोशनी कार्कीले बताइन् । निकासा प्रक्रिया सुरु भएकाले अब वितरण हुने उनले जानकारी दिइन् ।

ज्येष्ठ नागरिक दानबहादुर बानियाले भत्ता किन नदिएको बुझन नसकिएको बताए । उनले यातायातमा पनि छुट नपाएको भन्दै सो को व्यवस्थाका लागि माग गरे ।

विगुटारका १ सयभन्दा बढी ज्येष्ठ नागरिकले भत्ता पाएका छैनन् । सरोकारवाहरूसँग बसेर छुट पाउने व्यवस्था कार्यन्वयन गर्न जिल्ला प्रहरी कार्यालयका डिएसपी मिलन केसीले प्रतिबद्धता जनाए ।

‘यसका लागि सबैले सहयोग गर्नु पर्छ’-उनले भने । त्यसैगरी हाल नगरपालिकामा गाभिएको साविक जन्तरखानी गाविसमा भत्ता वितरण कर्मचारीले ४ हजार दिनु पर्नेमा २ हजार ५ सय मात्र दिएको ज्येष्ठ नागरिक दीर्घमाया बिकले गुनासो गरेको स्थानीयले गुनासो गरे । कर्मचारीको बेइमानी छानबिन हुने कार्यकारी अधिकृत कार्कीले बताइन् ।

ज्येष्ठ नागरिकका अधिकार कानुनले सुरक्षित गरे पनि कानुनी उपचारमा आउने प्रचलन नभएको ओखलढुङ्गाका जिल्ला न्यायाधिवक्ता प्रमोद भट्टराईले बताए । सचेतानाको अभावले कानुन कार्यन्वयनमा समस्या रहेको उनको भनाइ छ ।

अन्य

भिडियो