नेपाल सरकारले सामाजिक सुरक्षा कार्यक्रममार्फत वृद्धवृद्धालाई ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराउँदै आएको छ ।
वृद्धभत्ताले बुढेसकालमा भर–अभरमा खर्चका लागि ठूलो सहयोग भएको छ । अधिकांश ज्येष्ठ नागरिकहरूले वृद्ध भत्ताबाटै दैनिकी चलाइ रहेका छन् ।
तर, चौविसे गाउँपालिका–५ बोधेका ८७ वर्षीय सुकबहादुर याखा र उहाँकी ७८ वर्षीया पत्नी दिलमाया याखा भने भत्ताबाट वञ्चित हुनु परेको छ ।
चौविसे गाउँपालिका–५ बोधेका ज्येष्ठ नागरिकले हरेक चौमासिकमा वृद्ध भत्तासुविधा लिने गरेको भएपनि सेतै फुलेको कपाल, मासु सकिएर मुजामुजा परेको अनुहार भएका याखा दम्पतीले अहिलेसम्म भत्ता पाउन सक्नु भएको छैन ।
सुकबहादुरका भाइ पूर्णबहादुर याखाले नियमित भत्ता पाइरहनु भएको छ । पूर्णबहादुर अहिले ७९ वर्षको हुनुहुन्छ । सुकबहादुर र दिलमायासँग भएको नागरिकतामा जन्म मिति गलत हुँदा दम्पति नै सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनु परेको छ ।
पाको उमेर भइसकेका याखा दम्पती न कान राम्रो सुन्छन्, न त राम्रोसँग आँखा नै देख्छन् । बुढ्यौलीका कारण शारीरिक रूपमा अशक्त भएका छन् ।
दुई छोरीका आमाबाबु याखा दम्पति कान्छी छोरी भीममाया राईको रेखदेखमा बस्दै आएका छन् । हुन त भीममाया पनि विवाह गरेर गइसकेकी छिन् तर, कहिलेकाँही आएर बाबुआमाको रेखदेख गर्ने गरेको भीममायाले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।
‘वडा कार्यालयले कहिले नाता प्रमाणित माग्छ कहिले के माग्छ तर, के खोजेको हो थाहा भएन ।’, भीममायाले इन्सेक प्रतिनिधिसँग भन्नुभयो ‘कहिले दुई महिनापछि आउनु भन्ने गरेको छ, दुई महिनापछि गर्ने काम अहिल्यै गर्दिनु भन्दा मिल्दैन भन्ने गरेका छन् ।’
कान्छी छोरी भीममाया तथा आफन्तहरूले नागरिकताको जन्ममिति सच्याउन पहल गरेपनि वडा कार्यालयले सिफारिस नदिँदा बुढेसकालको सहारा बन्दै आएको सामाजिक सुरक्षा भत्तासमेत नपाएको याखा दम्पतीको गुनासो छ ।
सङ्घीयता आएर स्थानीय सरकार गठन हुदा सिंहदरवार गाउँमा आएको भनिएपनि याखा दम्पतीका लागि गाउँमा सिहंदरबार आएको अनुभूति भएको छैन ।
स्थानीय सरकार बनेको ६ वर्ष बित्दा पनि वडाबाट याखा दम्पतिको नागरिकतामा भएको जन्ममिति सच्याउन सिफारिस भएको छैन् ।
सुकबहादुरको नागरिकतामा वि.स.२०१२ साल र दिलमायाको नागरिकतामा वि.स.२०१३ सालको जन्ममिति उल्लेख छ ।
त्यसो त निर्वाचन आयोगले जारी गरेको मतदाता सूचीमा पहिल्यैदेखि उहाँहरूको नाम रहेको छ भने मतदाता परिचयपत्र पनि साथैमा छ ।
मतदाता परिचयपत्रमा सुकबहादुरको वि.स. १९९२ र दिलमायाको वि.स.२००१ साल जन्ममिति उल्लेख छ । सोही आधारमा जन्ममिति सच्याइदिन याखा दम्पतिको माग छ । तर, पटकपटक धाउँदा पनि वडा कार्यालयले सिफारिस नदिएको गुनासो याखा दम्पतिले इन्सेक प्रतिनिधिसँग गर्नु भएको छ । ‘वडा कार्यालयले उमेर नपुगेको मात्रै भन्छ, सच्याउन मिल्दैन भन्छ ।’ सुकबहादुरले भन्नुभयो ‘के गर्ने थाहा छैन, भत्ता पाउन पाए केही सजिलो हुन्थ्यो भन्ने लागेको थियो ।’
सुकबहादुरका भाइ पूर्णबहादुरले धेरै वर्ष पहिलेदेखि आफूले भत्ता पाएको बताउनु भयो सुकबहादुरले भन्नुभयो, दाजुको नागरिकता सच्याउन धेरै पटक प्रयास गरेको भएपनि काम भएन । ‘कहिले मिल्छ भन्छ कहिले मिल्दैन भन्छ ।’ पूर्णबहादुरले भन्नुभयो ‘कहिले मिल्ने भन्ने र कहिले मिल्दैन भन्ने कस्तो कानुन बनेको छ थाहा छैन तर, हाम्रो काम भए हुन्थ्यो ।’
जन्म मिति फरक परेका कारण ज्येष्ठ नागरिक वृद्ध भत्ताबाट वञ्चित भएको विषयमा चौविसे गाउँपालिका–५ का वडाध्यक्ष तारावीर याखाले नयाँ नागरिकताको लागि सिफारिस दिन नसकिने र पुरानोलाई मिति सच्याउन सिफारिस माग भएमा दिन मिल्ने बताउनु भयो । उहाँले जिल्ला प्रशासनले त्यस्तो सिफारिस माग नगरेको कारण समस्या भएको बताउँदै सहजीकरण गर्दिन सरोकारवाला पक्षसँग अनुरोध गरेको बताउनु भयो । वडाध्यक्ष याखाले जिल्ला प्रशासनसँग बुझ्दा नमिल्ने बुझेको कारणले सिफारिस नदिएको बताउनु भयो ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले प्रशासनले सहजीकरण गर्ने र राज्यले उपलब्ध गराउने सामाजिक सुरक्षाबाट कोही वञ्चित हुनु नपर्ने बताउनु भयो । कट्टेलले भन्नुभयो ‘उहाँहरू यहाँ आउन सक्ने हुन्न रे त्यस विषयमा पनि प्रशासनले सहजीकरण गर्छ ।’, प्रमुख जिल्ला अधिकारी कट्टेलले भन्नु भयो ‘सरकारले जे काममा खटाएको हो, त्यो काम कानुनको अधिनमा रहेर गछौँ ।’ राज्यले उलपब्ध गराउने सामाजिक सुरक्षा भत्ता उहाँहरूको अधिकार हो ।







