INSEC Online

📅 २०८३ जेष्ठ २१

कुदुका स्थानीयबासी पानी भर्न रातभर जाग्राम बस्न बाध्य

एक गाग्री पानी भर्न कुदुकी धनाकुमारी शर्मालाई करिब ३ देखि ४ घण्टा समय लाग्थ्यो । घर नजिकै दुई वर्षअघि नगरपालिकाले डिपबोरिङ्गबाट पानी आउने बनाएपछि धनाकुमारी जस्तै कुदुका स्थानीय बासिन्दाका लागि भेरी नदीको धमिलो पानी खानुपर्ने बाध्यता हटेको थियो ।

नदिको धमिलो पानी खानुपर्ने बाध्यताबाट मुक्त भएका कुदुका स्थानीयबासीलाई खानेपानीको सहज अझै हुन सकेको छैन ।

कुदु गाँउमा करिव ४ सय ५० घरधुरी छन् । ति सबै घरका मानिसका लागि एक मात्र डिप बोरिङ्ग धारा छ । त्यो पनि बिजुलीबाट चल्ने गर्दछ । सधै चल्दैन । पानी लिन नाम लेखाउनु पर्छ । पालो आएपछि मात्र स्थानीयबासीले भर्न पाउछन ।

भेरी नगरपालिकाको वडा नम्वर १३ कुदुमा विगतका दिनमा भेरीको धमिलो पानी खानुपर्ने बाध्यता थियो । भेरीको पानीबाट विभिन्न किसिमका रोग लाग्ने गरेकोमा अहिले नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको डिप बोरिङ्गबाट शुरुका केही महिना केही राहत भएको महशुस भएपनि अहिले पुन पानी भर्नका लागि घण्टौ कुर्नपर्ने बाध्यता रहेको छ । धनाकुमारी शर्मा जस्तै त्यस ठाउँका महिलालाई कामको भ्याई नभ्याई भएको छ । धाराबाट पानी भर्नेदेखि घाँस, दाउरा र चुलोचौकासम्म महिलालेनै गर्नुपर्ने अबस्थामा पानी लिन घण्टौ कुर्नपर्दा घरको अन्य काम नसकिने अवस्था रहेकाले कहिले काँही त राती सुत्ने समय पनि नहुने स्थानीय धनाकुमारी शर्माले गुनासो गर्नु भएको छ ।

बिहान उठेर अन्य कामको चटारो हुँदा हुँदै पनि सबै काम छोडेर पानीको जोहो गर्न जानुपर्ने हुन्छ, गाउँ भरिका लागी एक मात्र डिप बोरिङ्ग भएकाले पालो नै आउँदैन पानीको निकै सास्ती छ भन्नु हुन्छ धनाकुमारी शर्मा ।

त्यस्तै स्थानीय सरस्वती गिरीले भन्नु भयो ‘कतिपयको त पानी भर्नका लागि राती ११ बजेपछि पालो आउँछ । पानी भर्नकै लागि रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ ।’ पानी खोल्न र बन्द गर्न उपभोक्ताले मासिक १५ हजार दिने गरि स्थानीय तुलाराम गिरीलाई सहयोगी राखेका छन् । सहयोगीले नाम लेखाउँछन् । पालो आएपछि मात्र पानी भर्न पाईन्छ । नाम दर्ता गरेको कहिले कसो २÷३ घण्टा त कहिले ५÷६ घण्टापछि मात्र पालो आउँछ । पालो राती ११ बजेपछि पनि आउन सक्छ भन्नु हुन्छ सरस्वती गिरी ।

त्यसैगरी स्थानीय निरज आचार्यले भन्नु भयो ‘कुदुवासीको पानीको पिडा कहिलै समाधान नहुने भयो । समयमा पालो नआएपछि कतिपयले अझै भेरीको धमिलो पानी खान छोडेका छैनन् ।’ डिप बोरिङ्ग निर्माणका लागि भेरी नगरपालिकाको ६५ लाख रुपियाँको लागतमा दुई बर्ष अघि निर्माण गरिएको हो । त्यसो त उक्त गाँउमा खानेपानी योजना नपरेका पनि होइनन् । गाँउमा मुहान नभएको र टाढाबाट ल्याएको खानेपानी आयोजना दिगो नहुँदा स्थानीयवासी बर्षौदेखि खानेपानीको समस्या भोग्न बाध्य भएका छन् ।

कुदु बृहत खानेपानी आयोजनाका लागि तत्कालीन खानेपानी तथा सरसफाई कार्यालयबाट चार करोड रुपियाँ छ्ट्याईएको भएपनि आयोजना समयमा सम्पन्न नभई निर्माण चरणमै रहेको छ । पानी चल्न सकेको छैन । नगरपालिकाले पनि खानेपानी आयोजनाका लागि आवश्यक बजेट विनियोजन गरेको भएपनि पानी आउन नसकेको स्थानीय नरबहादुर बस्नेतले बताउनु भयो ।
भगवती मावि कुदुमा कक्षा ८ मा अध्यनरत छात्रा भगवती बटालाले भन्नु भयो आजभोली गर्मीले गर्दा घरदेखी ल्याएको पानी खानै पुग्दैन अनि विद्यालयमा उचित खानेपानीको व्यवस्था छैन त्यसैले पनि कतिपय विद्यार्थी पानीकै कारण विद्यालय आउनै छाडेका छन् । भगवती भन्नुहुन्छ कुदु गाउँमै खानेपानीको समस्याले गर्दा नत विद्यालयमा शुद्ध खानेपानीनै हुन्छ नत विद्यालयको शौचालयमा पानी हुन्छ पानीको समस्याले गर्दा विद्यालयमा विद्यार्थीको संख्या दिनप्रतिदिन घट्दो क्रममा छ ।

कुदुको खानेपानी समस्याको दिर्घकालिन समाधानका लागि आवश्यक पहल भइरहेको भेरी नगरपालिकाका वडा नम्वर १३ का वडा अध्यक्ष यज्ञ बटालाले जानकारी दिनु भएको छ । उहाँले भन्नु भयो कुदुमा ४ सय ५० घर धुरीका करिब २ हजार ५ सय ५० जना नागरिकहरू खानेपानीको समस्यामा परेका छन् । पानीको मुहान निकै टाढा भएकाले कुदु गाउँमा पानी ल्याउन निकै समस्या भएको बताउँदै अध्यक्ष बटालाले डिप बोरिङ्गबाट पानी निकालिएको र गाउँ भरिका लागी एउटा डिप बोरिङ्ग अप्रयाप्त रहेको बताउनु भयो ।

त्यस्तै भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीले नगरपालिकाको वडा नं १३ मा खानेपानीको निकै समस्या भएकाले पहिलो पटक नगरले दुई वर्ष अघि ट्रायल स्वरुप एउटा डिप बोरिङ्ग निर्माण गरिएको र केही महिना भित्र लिफ्ट सिस्टमबाट भेरी नदीको पानी निकालेर शुद्धिकरण गरी पर्याप्त खानेपानीको व्यवस्थापनका लागि प्रकृया अगाडी बढाएको आश्वासन दिनु भयो ।

Photojajarkot20220723

अन्य

भिडियो