सल्यानको छत्रेश्वरी गाउँपालिकास्थित स्वास्थ्य संस्थाहरूमा दुई हप्तादेखि अत्यावश्यक औषधिको अभाव भएको छ ।
गाउँपालिकाले खरिद गरेर पठाउनुपर्ने औषधि समयमा नपठाउदा यस गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थामा औषधिको अभाव भएको स्थानीय रेमन्तजङ्ग शाहीले जानकारी दिनुभयो ।
उपचारका लागि स्वास्थ्य संस्थामा पुगेका बिरामी औषधि नपाएर खाली हात फर्किन बाध्य भएको स्थानीय शाहीले बताउनुभयो ।
मौसम परिवर्तनसँगै ज्वरो, पखाला, आउमासी लगायतका समस्या भएका बिरामी स्वास्थ्य संस्थामा जाने भएपनि जीवनजल समेत नहुदाँ उनीहरू निजी मेडिकलबाट महङ्गो मुल्यमा किन्न बाध्य भएका छन् उहाँले भन्नुभयो, यहाँका केही स्वास्थ्य संस्थामा जीवनजल छैन त कसैमा व्रुफिन पनि छैनन् ।
‘लामो समयको खडेरीपछि बर्षात हुँदा गाउँमा ज्वरो आउने, टाउको दुख्ने, पखाला लाग्ने समस्या भएका बिरामीको चाप बढ्न थालेको छ, तर स्वास्थ्य संस्थामा औषधि छैन भनेर सबै नागरिक निजि क्लिनिकमा उपचारका लागि जान्छन, स्थानीय कर्णबहादुर सार्कीले भन्नुभयो, उहाँले भन्नुभयो जाँच गर्न सरकारीमा जाने र औषधि किन्न निजि क्लिनिकमा जाँदा समस्या भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरा, स्वास्थ्य चौकी झिम्पे, स्वास्थ्य चौकी दमाचौर, स्वास्थ्य चौकी छाँयाक्षेत्र, आधारभूत स्वास्थ्य केन्द्र दहखोला लगायतका स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो । अहिले पालिका भित्रका स्वास्थ्य संस्थामा जीवनजलसहित पारासिटामोलको समेत अभाव भएको प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखराका इन्चार्ज वीरबहादुर वलीले जानकारी दिनुभएको छ । ५८ प्रकारका औषधि पाइनुपर्ने प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरामा करिब १५ प्रकारका मात्रै औषधि छन् । ती मध्ये अधिकांश औषधि सकिने अवस्थामा रहेको इन्चार्ज वलीले बताउनुभयो ।
उहाँका अनुसार यहाँ जीवनजलको समेत अभाव छ । ‘करिब दुई हप्तादेखि औषधि अभाव छ, जीवनजल समेत उपलब्ध छैन्, प्रेसर, ग्यास्टिक लगाएतका नियमित रुपमा औषधि सेवन गर्दै आएका सेवाग्राहीले औषधि पाएका छैनन, आँखा कानमा राख्ने औषधि देखि ज्वरो, रुघाखोकीका बिरामीलाई दिने औषधि समेत छैन्, उहाँले भन्नुभयो ‘करिब ९० प्रतिशत औषधि छैन, दैनिक २०÷२५ जना बिरामी आउँछन, तर खाली हात फर्काउन बाध्य भएका छौँ ।
स्वास्थ्य चौकी झिम्पेमा बच्चाको लागि आवश्यक पर्ने पारासिटामोल झोलको अभाव भएको र स्टक रहेका औषधि पनि सकिने क्रममा रहेको इन्चार्ज शिशिर रिजालले बताउनुभयो । स्वास्थ्य चौकी दमाचौरका इन्चार्ज रुपक चन्दले विगतको तुलनामा यस पटक स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव भएको बताउनुभयो ।
स्वास्थ्य चौकी छायाँक्षेत्रका इन्चार्ज गणेश चन्दले अत्यावश्यक पर्ने प्रेसर, एन्टिबायोटिक लगायतका औषधिको अभाव रहेको बताउनुभयो । उहाँले स्वास्थ्य संस्थामा स्टकमा राखिएका औषधिहरू सकिएको र जीवनजल, मलम आदीको पनि थोरै मात्रा बाँकी रहेको बताउनुभयो ।
गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराईले गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक पर्ने औषधि अभाव रहेको बताउनुभयो । औषधि खरिदका लागि करिब तीन महिना अघि माग फारम भरेर टिप्पणी समेत उठाइसकेको अवस्थामा विविध कारणले गर्दा औषधि खरिद गर्न नसकिएको बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप खनालले भने यही महिनामा नै औषधि आइपुग्ने बताउनुभयो । असारमसान्तमा औषधि खरिदमा ढिलाई भएको भएपनि यस महिनामा नै औषधि आइपुग्ने र औषधि अभावको समस्या समाधान हुने बताउनुभयो ।