राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयको आयोजनामा ०७९ साउन १ गते अन्तर्राष्ट्रिय न्याय दिवसको सन्दर्भमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
आयोगको बागमती प्रदेश कार्यालय र इन्सेकबीच भएको छलफलमा आयोगका बागमती प्रदेश कार्यालय प्रमुख यज्ञप्रसाद अधिकारी र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश संयोजक कृष्ण गौतमले अन्तर्राष्ट्रिय फौजदारी अदातको रोम विधान र वर्तमान नेपाली फौज्दारी कानुनका सन्दर्भमा चर्चा गर्नु भएको थियो ।
सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पनि नेपाल अन्तराष्ट्रिय फौजदारी अदालत राेम विधानको पक्ष राष्ट्र हुन आवश्यक रहेको अधिकारीले बताउनु भयो ।
रोम विधान संसारका १ सय २३ राष्ट्रले अनुमोदन गरिसकेको तर नेपाल हालसम्म अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधानको पक्ष राष्ट्र नभएको भन्दै सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएको (इन्सेक) बागमती प्रदेश संयोजक कृष्ण गौतमले बताउनु भयो ।
छलफलमा सङ्क्रमणकालीन न्यायलाई सम्बोधन गर्न लामो समयदेखि अधिकारकर्मीहरूले आवज उठाउँदै आएको अधिकारीले बताउनु भयो ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाईको स्मरणमा नेपालमा पनि अन्तर्राष्ट्रिय न्याय दिवस मनाइँदै आएको छ ।
