INSEC Online

📅 २०८३ जेष्ठ २१

जुम्लाको सदरमुकाम खलंगामा खानेपानी अभाव

कर्णाली प्रदेशको सुर्खेतपछिको दोस्रो ठुलो शहर जुम्लाको सदरमुका खलंगामै खानेपानी अभाव भएको छ । यहाँ शहरीकरण भएपछि जनघनत्व बृद्धि हुँदै जानु, खडेरीले पानीका स्रोत सुक्दै जानु र थप संरचना निर्माण नहुनुले खानेपानी अभाव भएको हो ।

सदरमुकाम खलंगा अर्थात चन्दननाथ नगरपालिका–६ विजयनगरकी अष्टलक्ष्मी भण्डारीले भन्नुभयो ‘धारा भएर के गर्ने ? पानी नै आउँदैन, पानी नहुँदा सरसफाईदेखि खाना पकाउनेसम्म समस्या भएको छ ।

दैनिक जसो बिहान खानेपानीको जोहो गर्न अर्काे टोल जुगाड खोलातिर जानुपर्ने समस्या भएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो बिहान र बेलुका कारिब २ घण्टा पानीको जोहो गर्नमै बित्छ । खलंगाको सबै घरमा धारा जडान गरिएको छ । तर खानेपानी धारामा एकहप्ता दिनदेखि पानी आएको छैन । धारामा नियमित पानी नआउँदा पानी भर्नकै लागि केही स्थानीय तिला नदीसम्म पुग्नु पर्ने बाध्यता रहेको उहाँले गुनासो गर्नुभयो ।

मानवीय कमजोरीका कारण जलवायुमा देखिएको असरले खानेपानीको मुहान सुकिरहेको स्थानीय अगुवा केशर न्यौपानेले बताउनु भयो । ‘पहिले पिउने, सरसफाई गर्नेदेखि नजिकैको करेसाबारीमा सिँचाई गर्नसम्म यही पानीले पुग्थ्यो,’ उहाँले भन्नुभयोे, जनघनत्व बृद्धि हुँदै गयो, मुहान सक्दै गए अहिले पिउने पानीकै लागि मुस्किल भयो ।’

खलंगामा खानेपानीको मुहान नहुँदा करिब नौ किलोमिटर टाढाको पातारासी गाउँपालिकाको–६ बडेखोलीदेखि खानेपानी ल्याइएको छ । तर खडेरीका कारण मुहानमा पानी सुकेपछि स्थानीयलाई सास्ती भएको हो । मुहान नहुँदा खानेपानीमा अर्कै स्थानीय तहको भर पर्नुपरेको खलंगा खानेपानी उपभोक्ता समितिले जनाएको छ ।

समितिका कार्यालय प्रमुख अर्जुन बरालले मुहान सुक्दा पानीको समस्या भएको बताउनु भयो । ‘पहिले २ सय धाराको लागि मात्र खानेपानी आयोजना बनाइएको थियो, अहिले १ हजार ६ सय ५० धारा छन्,’ उहाँले भन्नुभयो, ‘बडेखोलीको मुहानमा ३ वटा पानीको मुहान मिसाइएको छ, तैपनि प्रतिसेकेण्ड २ लिटर मात्र पानीको गति हुँदा समस्या भयो ।’

उहाँका अनुसार दशक अघिसम्म मुहानमै प्रतिसेकेन्ड ६ लिटर पानी भरिन्थ्यो । खानेपानी समस्या समाधान गर्न अहिले ४ लाख लिटर अटाउने क्षमता भएको पानी ट्यांकी बनाइएको संस्थाले जनाएको छ ।

भौगोलिक बनावट र जनसङ्ख्या वृद्धिका कारण खलंगामा दिनप्रतिदिन खानेपानीको अभाव हुँदै गएको प्रमुख बरालले बताउनु भयो । उहाँका अनुसार चैतदेखि असारको पहिलो सातासम्म खलंगामा पानी पु¥याउन समस्या भएको हो । पछिल्लो समय तातोपानी, चन्दननाथ र गुठीचौर गाउँपालिकालाई पुग्ने गरी एक अर्ब ४६ करोड लागतको धौलिगाड बृहत खानेपानी आयोजनाको काम सुरु भएको छ । यो आयोजना निर्माण पश्चात खानेपानी प्रयाप्त हुने अपेक्षा गरिएको छ ।
Jumlaphoto20220706 = Jumlaphoto20220706==

अन्य

भिडियो