बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको छ ।
जलाइरहेको खबर प्रहरीलाई पुगेपछि प्रहरीले श्यामबहादुर साह कलवारकी छोरी महिमा कुमारीको शरीरको आधा भाग जलेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
शवलाई मोटरसाइकलमा राखेर र दाउरा टेम्पोमा राखेर जलाउन लगिएको थियो । सो मोटरसाइकल र टेम्पो पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
शङ्कास्पद रुपमा बालिकाको शव राति करिब ११ बजे आधा जलेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी प्रल्हाद कार्कीले बताउनु भयो । शव पोस्टमार्टमको लागि वीरगंजस्थित नारायणी अस्पतालमा राखिएको उहाँले बताउनु भयो ।
घटनाबारे सोधपुछको लागि मृतकका परिवारका तीन जनालाई नियन्त्रणमा लिइएको डिएसपी कार्कीले बताउनु भयो । मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको उहाँले बताउनु भयो ।
मृतक बालिकाका बुबा भने ‘फरार’ रहेको प्रहरीले जनाएको छ । गिरफ्तार भएकाहरूले पनि मृत्युको विषयमा फरकफरक कुरा बताइरहेको प्रहरीको भनाई छ ।
‘अनुसन्धान गर्दैछौँ ।’–डिएसपी कार्कीले भन्नु भयो–‘अहिले नै केही भनी हाल्न मिल्ने अवस्था छैन ।’