पाँचपोखरी थाम्पाल गाउपालिका–५ गुन्सा स्थायी घरभई आठ महिनादेखि ज्यानमार्ने उद्योग र बलात्कार आरोपमा चौतारा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका ४९ वर्षीय मैते गोलेको ०७९ असार ११ गते जेलभित्रै मृत्यु भएको छ ।
गोलेलाई ०७८ कार्तिक १६ गतेदेखि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकोको थियो । कारागारमा थुनामा रहेका बखत असार ११ गते दिउँसो बेहोस भई ढलेपछि अस्पताल लगिएको कारागारका जेलर अनिल बुढाथोकीले बताउनु भयो ।
यसअघि कुनै केही रोगको लक्षण नदेखिएको र एक्कासी बेहोस भइ ढलेर मृत्यु भएको घटनाको प्रकृतिल हेर्दा हटह्याट्याक भएर मृत्यु भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले बताउनु भयो ।
जेलभित्र बेहोस भएर ढलेका गोलेलाई कारागार प्रशासनले तत्कालै चौतारा अस्पताल लगेको थियो । गोलेलाई अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषण गरेका थिए ।
शवको पोष्टमार्टम चौतारा अस्पतालमा असार १२ गते गरिएको र सद्गतको लागि आफन्तको जिम्मा लगाइएको जेलर अनिल बुढाथोकीले बताउनु भयो ।
जेलभित्र बसेका थुनुवाको के कति कारणले मृत्यु भएको भन्ने कुराको अनुसन्धान गरिनु पर्ने नेपाल बार एसाेसिएसनका जिल्ला अध्यक्ष भुपेन्द्र थिङले बताउनु भयाे ।
०७२ सालको बिनाशकारी भूकम्पले भत्केको जेल पुनःनिर्माण हुन नसक्दा ८० जना महिला मात्र राख्ने क्षमता भएको यस चौतारा कारागारमा हाल १ सय ७६ जना पुरुष बन्दीलाई राखिएको छ । महिला बन्दीलाई भने अन्यत्रको जिल्ला कारागार शाखामा पठाउने गरिएको छ ।
यसैबीच राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयले पनि घटनाकाे सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।