डाँफेलोहनी पीएस जेभी, डोटीले ०७५ वैशाख ५ गते ठेक्का लिएरको ५० शैयाको जिल्ला अस्पतालको भवन समय मै सम्पन्न नहुँदा सेवाग्राही समस्यमा परेका छन् ।
२०७८ वैशाख ५ गते भवन निर्माण कार्य सम्पन्न गर्ने सम्झौता उल्लेख गरिएको भएपनि निर्धारित समयमा अस्पतालको भवन निर्माण हुन नसकेपछि बिरामीहरु मर्कामा परेका हुन् ।
हालसम्म भवन निर्माणको ६५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
भवन निर्माण कार्य समय मै सम्पन्न हुन नसकेपछि उपचार सेवा प्रभावित भइरहेको जिल्ला अस्पतालका प्रमुख डाक्टर प्रकाशराज जोशीले वताउनु भयो ।
उहाँले भन्नु भयो– ‘भवन निर्माण नहुँदा उपचार सेवा नै अस्तव्यस्त भएको छ । कुनै पनि फाँट व्यवस्थित रुपमा सञ्चालन हुन सकेको छैन् । भवन निर्माण नहुँदा पीसिआर मेशिन पनि भाडामा सञ्चालनमा रहेको छ । अन्य केही सेवा पनि घर भाडामा लिएर सञ्चालन गरिरहेका छौँ ।’
जिल्ला अस्पतालको भवन शहरी विकास मन्त्रालय अन्तर्गत निर्माण हुन लागेको हो । २६ करोड ११ लाख ६१ हजार ३ सय ३९ रुपियाँमा कम्पनीले ठेक्का पाएको थियो ।
जिल्ला अस्पतालमा ५० शैयाका चार ओटा भवन निर्माण भइरहेको भएपनि समय मै निर्माण कार्य नसकिदा सेवा प्रवाह गर्न समस्या भएको अस्पताल प्रशासनले जनाएको छ ।
जिल्ला अस्पतालमा दैनिक १ सय जना भन्दा बढी बिरामी उपचारको लागि आउने गरेका छन् ।
भवन अभावमा सुत्केरी सेवा, ईमरजेन्सी सेवालगायतका सेवा एउटै भवनबाट सञ्चालन गर्नु पर्ने बाध्यता रहेकोले सेवाग्राहीले समस्या झेल्नु परेको जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले बताउनु भयो ।
नयाँ भवन निर्माण सुरु भएसँगै पुराना भवन भत्काएपछि तीन वर्षदेखि उपचारमा समस्या आएको हो ।
डाँफेलोहनी पीएस जेभीका प्रतिनिधि हरिश मडैले कोभिड र वर्षातमा बाटो बन्द हुने भएकाले समयमै काम सम्पन्न गर्न नसकेको भएपनि यसै वर्षको मङ्सिर महिना भित्र निर्माण कार्य सम्पन्न हुने बताउनु भयो ।
सघन शहरी तथा भवन निर्माण आयोजना राजपुर, डोटीका प्राविधिक मदन भट्टले अस्पतालले समयमै जग्गा व्यवस्थापन गर्न नसक्नु, पुराना भवनको व्यवस्थापन र वर्षातमा बाढी पहिरोले सडक बन्द हुँदा समय मै काम नभएको वताउनु भयो ।