बहुविवाह गरेको कसुरमा गोलबजार नपा-२ का ३२ वर्षीय ध्यानी पासवानलाई जिल्ला अदालतले एक वर्षकैद तथा २ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।
न्यायाधीश चन्द्रमणी ज्ञवालीको वैशाख १४ गतेको इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्ध आले मगरले बताए । मगरका अनुसार आरोपित २७ वर्षीया गौरी सदायलाई अदालतले सफाई दिने फैसला गरेको छ ।
२८ वर्षीया सुनिता पासवानले ०७३ भदौ १३ गते उनका पति ३२ वर्षीय ध्यानी पासवानले २७ वर्षीया गौरी सदायसँग बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारमा भदौ १६ गते उजुरी दिएकी थिइन् ।
इलाका प्रहरी कार्यालय गोलबजारले आरोपितहरूलाई भदौ १५ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपितहरू असोज ५ गते जनही १० हजार रुपियाँ धरौटीमा रिहा भएका थिए ।