नलगाड नगरपालिका–५ रघुनाथ सेराखेत स्थित श्री जनकल्याण आधारभुत विद्यालयमा जेठ १८ गते राति तोडफोड भएको छ ।
तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले नलगाड नगरपालिका–५ रघुनाथका २० वर्षीय जनक ओली र सोही ठाउँका २१ वर्षीय विनोद खत्रीलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका इन्स्पेक्टर पुष्कर पन्तले बताउनु भयो ।
घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट इन्स्पेक्टर अर्जुनसिंह साउदको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूकै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी गिरफ्तार गरी उनीहरू विरुद्ध जिल्ला अदालतबाट आपराधिक उपद्रवसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको समेत इन्स्पेक्टर पन्तले बताउनु भयो ।
तोडफोडबाट विद्यालयको करिब ८ देखि १० लाख रुपियाँ बराबरको क्षति भएको विद्यालयका शिक्षक मदन रावलले बताउनु भयो ।
उनीहरूले विद्यालय कार्यालयको ढोका फोरेर कोठाभित्र रहेका कम्प्युटर, कुर्सी, टेबुल लगायतका समानहरू तोडफोड गरेका थिए ।
तोडफोडको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।