INSEC Online

📅 २०८३ जेष्ठ २१

विवाह गरेको १२ वर्षसम्म नागरिकता नपाएको भन्दै जिल्ला प्रशासनमा उजुरी

सिमकोट गाउँपालिका–५ की २६ वर्षीया बविता बोहराले विवाह भएको १२ वर्ष वितिसक्दा २९ वर्षीय पति रवि रोकायाले नागरिकता  बनाउन सहयोग नगरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय, हुम्लामा उजुरी दिनु भएको छ ।

पतिले आफूलाई पटक पटक कुटपिट गर्दै आएको र नागरिकता बनाइदिने सवालमा बनाउँछु भन्ने आश्वासन दिएको तर १२ वर्षसम्म  नागरिकता  बनाउन सहयोग नगरेपछि जेठ १९ गते जिल्ला प्रशासन कार्यालय, हुम्लामा उजुरी दिएको पीडितले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो “सिमकोट गाउँपालिकामा ०७८ जेठ ९ गते नागरिकता नबनाई दिएको भन्दै उजुरी गर्दा त्यतिबेला पतिले गाउँपालिकाको न्यायिक समितिका संयोजक बलि रावत लगायतका व्यक्तिसँगको छलफलमा बसेर नागरिकता बनाइदिने प्रतिवद्धता जनाउनु भएको थियो ।”
पतिले आश्वासन मात्र दिएको नागरिकता बनाउन सहयोग नगरेपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न बाध्य भएको पीडितले गुनासो गर्नु भएको छ ।

पीडितको उजुरीका आधारमा रोकायालाई खवर गरीसकेको र जिल्ला प्रशासन कार्यालयमै बोलाएर पतिकै नामबाट नागरिकता उपलव्ध गराउन लगाउने सहायक प्रमुख जिल्ला अधिकारी अनुपम पौडेलले इन्सेक प्रतिनिधिलाई आश्वासन दिनु भएको छ ।

अन्य

भिडियो