INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी हिरासतको शौचालयमा थुनुवाको मृत्यु

इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका कोहलपुर नगरपालिका–१ का ४७ वर्षीय किशनलाल कुँवर जेठ ११ गते बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले बिहान करीब ५ बजे तिर कुँवर हिरासतको शौचालयमा झुण्डिएको र मृत अवस्थामा भेटिएको बताउनु भयो ।

‘हिरासत कक्षबाट ट्वाइलेट गएका कुँवर भ्यान्टीलेटरमा टिसर्टको पासो लगाएर मृत अवस्थामा पाइयो ।’ मल्लले भन्नु भयो  ।

कुँवरलाई प्रहरीले  वैशाख २० गते सात वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा गिरफ्तार गरी जबरजस्ती करणी उद्योगको अभियोगमा म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको थियो ।

प्रहरीले स्थानीय र आफन्तको रोहबरमा आवश्यक मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि भेरी अस्पताल पठाएको छ ।

यसैगरी, घटनाको जानकारी पाए पछि इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगको टोलीले घटना स्थलको अनुगमन गर्नुको साथै घटनाबारे जानकारी लिएको छ ।

अन्य

भिडियो