इटहरी उपमहानगरपालिका–६ का ५४ वर्षीय डम्वर(हिमाल) सुवेदीले आफूमाथि एकीकृत समाजवादीका कार्यकर्ताले जेठ ८ गते ज्यान मार्ने उद्देश्यले साङ्घातिक आक्रमण गरेको आरोप लगाउनु भएको छ ।
नेकपा एमाले प्रदेश १, सदस्य तथा निर्वाचन परिचालन कमिटिका सह संयोजक सुवेदीले इटहरी उपमहानगरपालिका–६ का ३४ वर्षीय कैलाश विष्टले आक्रमण गरेको आरोप लगाउनु भएको हो ।
इटहरी उपमहानगरपालिकामा एकीकृत समाजवादीबाट उपमेयर पदमा उम्मेदवारी दिनु भएका केशवकुमार विष्टका छोरा कैलाशले आक्रमण गरेको आरोप पीडितको छ ।
जेठ ८ गते विहान पौने सात बजे फेसवुकमा ज्यान मार्ने धम्की आएको र सात बजे बाटोमा हिँडिरहेको अवस्थामा ज्यान मार्ने उद्देश्यले कैलाशले आक्रमण गरेको सुवेदीको आरोप छ ।
पीडितले पत्रकार सम्मेलन गरी समाजवादीका कार्यकर्ताले आक्रमण गरेको आरोप लगाउनु भएको छ ।
आक्रमणबाट पीडितको गालामा चोट लागेको छ । घाइतेको इहटरीस्थित एक क्लिीनिकमा उपचार गरिएको छ ।
पीडितले आरोपितविरूद्ध जेठ ८ गते ज्यान मार्ने शीर्षकमा उजुरी दिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित पक्षको उजुरी लगत्तै आरोपित फरार भएकाले खोजी थालिएको प्रहरीले जनाएको छ ।
नेकपा एकीकृत समाजवादीका इटहरी नगर अध्यक्ष गणेश बुढाथोकीले घटना भयो भन्ने सूचना आफूले पाएको तर के कति कारणले त्यस्तो हुन गयो बुझ्ने प्रयास भएको बताउनु भयो ।
सुवेदीले आफ्नो फेसबुक वालमा इटहरी उपमहानगरपालिका–१५ मा निर्वाचनको मुखैमा केशव विष्टले पैसा बाड्दै हिँडेको र स्थानीयले लखेटेको स्टाटस किन लेखिएको भन्ने विषयमा कैलाशले जेठ ७ गते सोधपुछ गर्दा भनाभनपछि हातपात भएको स्थानीयले बताएका छन् ।

