नेकपा एमाले धर्मदवी नगर कमिटी सदस्य ६० वर्षीय नारायण लिम्बूलाई धर्मदेवी नगरपालिका–१ मा नेपाली कांग्रेस कार्यकर्ताले जेठ ५ गते कुटपिट गरेको नेकपा एमालेले आरोप लगाएको छ ।
जेठ ५ गते साँझ नगरपालिका पुगेर घर फर्किदै गरेका लिम्बूलाई कांग्रेस कार्यकर्ताले धर्मदेवी नगरपालिका–१ स्थित महभिर नजिकै डाडाँमा बाटो छेकेर साङ्घातिक आक्रमण गरेको आरोप नेकपा एमालेको छ ।
नेकपा एमाले धर्मदेवी नगर कमिटीले विज्ञप्ति जारी गरी घटनाका दोषीलाई कारबाहीको माग गरेको छ ।
चुनावको हार स्वीकार गर्न नसक्ने नेपाली कांग्रेसका अराजक कार्यकर्ताले नगर कमिटि सदस्यलाई कुटपिट गरेको नेकपा एमाले धर्मदेवी नगर कमिटी अध्यक्ष सूर्य पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
पीडित ०७४ को स्थानीय तह सदस्य निर्वाचनमा एमालेबाट वडा सदस्यमा निर्वाचित हुनु भएको थियो ।
कुटपिट टाउको, गोडा र शरीरका विभिन्नमा भागमा चोट लागेको छ । घाइते लिम्बूको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार हुन नसकेपछि विराट नर्सिङहोम विराटनगरमा भर्ना गरिएको छ ।
घटनाको जानकारी लगत्तै इलाका प्रहरी कार्यालय चैनपुरको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
घटनामा संलग्न भएको आरोप लागेका नेपाली कांग्रेसका कार्यकर्ता रूपमान तामाङ फरार भएको र खोजी थालिएको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा मौखिक जानकारी आएको भएपनि लिखित उजुरी नपरेको प्रहरीको भनाइ छ ।

