नागरिकता नहुँदा सार्वजनिक सेवाबाट नागरिक वञ्चित भएका छन् । कनकासुन्दरी गाउँपालिका–२ मालिकाबोता गाउँकी ३६ वर्षीया लक्ष्मी रावत नागरिकता नहुँदा सार्वजनिक सेवाबाट वञ्चित हुनु भएको छ ।
३८ वर्षीय पति सुकराम रावतसँग नागरिकता बनाइदिन पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नगरेको उहाँले गुनासो गर्नु भयो ।
‘नागरिकता नभएकै कारण मतदाता नामावलीमा मेरो नामावली छैन । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।’–उहाँले भन्नु भयो–‘नामावली नभएका कारण मतदान गर्न पाउने अधिकारबाट वञ्चित हुँदैछु ।’
नागरिकता नभएका कारण सार्वजनिक सेवा बैङ्क खाता खोल्नेदेखि अन्य गाउँमा आउने सेवासुविधाबाट पनि वञ्चित हुनु परेको उहाँले गुनासो गर्नु भयो ।
‘पत्नीको नागरिकता बनाइदिनु भनेर उहाँका पतिलाई धेरै पटक भनौँ । हामी वडाबाट सिफारिस गरिदिउँला भनेका छौँ । तर, आजभोलि भन्दाभन्दै उहाँका पतिले नागरिकता बनाइदिएनन् ।’–सोही वडाका वडाध्यक्ष शेरबहादुर रावतले भन्नु भयो ।
कनकासुन्दरी गाउँपालिका–१ रियाकी ३२ वर्षीया कमला बुढा (कठायत) नागरिकता नहुँदा सामाजिक सेवाबाट वञ्चित हुनुुभएको छ ।
जन्म घर पातारासी गाउँपालिका–७ पटमारा भएको बताउँदै उहाँले कनकासुन्दरी गाउँपालिका–१ रियागाउँका पतिले नागरिकता र विवाह दर्ता नबनाइदिएको गुनासो गर्नु भयो ।
उहाँले भन्नुभयो–‘अहिले १६ वर्षकी छोरी र १२ वर्षको छोरा छन् । तर, अहिलेसम्म पतिले नागरिकता र विवाह दर्ता नगरी दिएपछि सार्वजनिक सेवाबाट वञ्चित भएका छौँ ।’
नागरिकता नहुँदा अहिलेसम्म मतदाता नामावली बनाउन नपाएको उहाँको दुखेसो छ । यसअघिका निर्वाचनमासमेत मतदान गर्नबाट वञ्चित भएको उहाँले सुनाउनु भयो ।
वैशाख ३० गते पनि स्थानीय तहको निर्वाचिन आउँदैछ । यसपटक पनि मतदान गर्ने अधिकारबाट वञ्चित भएको उहाँले बताउनु भयो ।
‘नागरिकता नहुँदा बैङ्क खाता खोल्न पनि पाइएको छैन । मजदुरी गरी आर्जन गरेको रकम पनि आफन्तलाई राख्न दिनु परेको छ ।’–उहाँले थप्नुभयो ।
चन्दननाथ नगरपालिका–४ स्थित बौद्ध गुम्बामा बस्दै आउनु भएकी ८३ वर्षीया साङ्गे फुटीक नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनु भएको छ ।
मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा जन्मिएर २४ वर्षदेखि जुम्लामा बस्दै आउनु भएकी फुटिकले कान सुन्नुहुन्न । उहाँसँग अपाङ्गता परिचयपत्र पनि छैन ।
उग्रेन तेघोलिङ गुम्बाका काङसर लामाले गुम्बामा बास दिएर हेरविचार गर्दै आउनु भएको छ । ‘वृद्ध महिलाले कतै बस्ने ठाउँ नपाएपछि गुम्बामा बसालेको हुँ । उहाँका भाइ भए पनि हेरविचार गर्दैनन् । खानासमेत मुस्किलले खानु हुन्छ । कान पनि सुन्नुहुन्न ।’–लामाले भन्नु भयो ।
फुटीकका दाजुभाइले नागरिकता बनाउन पहल नगरेपछि सामाजिक सुरक्षा भत्तासमेत नपाएको लामाको भनाइ छ ।
अपाङ्गता भएका व्यक्ति तथा विपन्न नागरिकलाई सिबिएम नेपालको सहयोगमा आइएनएफ नेपाल जुम्लाले राहतस्वरूप खाद्यान्न वितरण गरेपछि फुटिकलाई केही सहज भयो ।
पातारासी गाउँपालिका–३ का वडाध्यक्ष बिर्खराम बुढाले भन्नु भयो–‘उहाँको स्थायी ठेगाना मुगु हो । त्यहाँबाट बसाइँसराइ गर्नु भएको छैन । बसाइँसराइको प्रमाण नभएपछि नागरिकता बनाउन समस्या भएको छ । नागरिकता बनाउन पहल गरेका छौँ । कानुनी जटिलताले नागरिकता बनाउन सकिएन । मुगुबाट नागरिकता बन्ने भए पनि वृद्ध हुँदा त्यहाँ जान सम्भव छैन ।’
स्थानीय तहको निर्वाचन नजिकिएको कारण गाउँगाउँमा नागरिकता वितरण घुम्ती कार्यक्रम गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताउनु भयो ।
उहाँले भन्नु भयो–‘नागरिकताका लागि जिल्ला प्रशासनमा आएका सेवाग्राहीलाई उपलव्ध गराएका छौँ । वैशाख पहिलो साता दुष्टिविहिन ६५ वर्षीया महिलालाई नागरिकता उपलव्ध गराएका छौँ ।’