INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालय भत्किएपछि विद्यार्थीको पठनपाठन खुलाचौरमा

जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ गौरी गाउँस्थित गएको माघ ९ गते हिमपातले नवदुर्गा आधारभुत विद्यालयको भवन भत्किएपछि कक्षाकोठा नहुँदा विद्यार्थी खुला चौरमा पढ्न बाध्य भएका छन् ।

विद्यालयमा दुई कोठे तीन ओटा भवन छन् । तर, यी भवन यहाँको लागि पर्याप्त छैनन् । भएका भवन समेत निकै जीर्ण र बस्न सकिने छैनन् ।

एउटा भवन गएको माघ ९ गते हिमपातले भत्कियो । अर्को भवनमा बर्खाको समयमा कक्षाकोठा भित्र पानी पस्छ ।

अहिले विद्यालयमा काम लाग्ने भवन एक मात्र छ । त्यो भवनका दुई कोठा छन् । एउटा कोठामा विद्यालयको कार्यालय छ ।

अर्काेमा बालविकास केन्द्रका विद्यार्थी पढिरहेका छन् । विद्यार्थीलाई बस्नको लागि कक्षाकोठा नभएर शैक्षिक सामग्रीको प्रयोग गरेर पठनपाठन गर्न कठिनाइ भएको प्राधानाध्यापक हरिबहादुर बुढा बताउनु भयो ।

उहाँले भन्नुभयोे–‘विद्यार्थीको गुणस्तर र सिकाइ उपलब्धिमा प्रत्यक्ष असर परेको छ । विद्यालयमा तीन वर्षदेखि १२ वर्षसम्मका विद्यार्थी अध्ययनरत छन् । विद्यालयको संरक्षणमा न स्थानीय सरकारको ध्यान गएको छ नत यहाँका अभिभावकको नै ! सरोकारवाला निकाय सबै मुकदर्शक बनेका छन् ।’

कक्षा ५ मा अध्ययनरत छात्र निराजन बुढाले भन्नुभयो–‘हामीलाई चौरमा बसेको बेला घामले निकै पोल्छ । वर्षा भएको बेला भिजिन्छ । खुला आकाशमा हावा चलेर राम्रोसँग पढ्ने वातावरण नै छैन । यो विद्यालय हो कि ? विद्यालयका नाममा खोलिएको संरचना मात्रै हो । बुझ्न निकै कठिन भएको छ ।’

विद्यार्थीका लागि विद्यालयमा एउटा मात्र कोठा छ । जहाँ बालविकास केन्द्रका बालबालिका बस्छन् ।

photo20220325jumla (1)

ठुला विद्यार्थीलाई चौरमा लस्कर लगाएर बसालिन्छ । ‘बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खुला चौरमा बस्छौँ । धुलोसँग खेल्छौँ ।’–कक्षा ४ की छात्रा रमिला बुढाले भन्नु भयो–‘नामको मात्रै विद्यालय छ । विद्यालयमा पढ्ने वातावरण छैन ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बुढाका अनुसार यो गौरी गाउँका लागि खोलिएको विद्यालय हो । यहाँ ४० घरपरिवारका विद्यार्थीले यहाँ अध्ययन गर्छन् । विद्यालयको अवस्था हेरेर कतिपय अभिभावकले विद्यार्थीलाई निजी विद्यालयमा पढ्न पठाउने गरेका छन् ।

उहाँले अधिकांश अभिभावकको चासो निजी विद्यालयतिर गएकोले सरकारी विद्यालयको अवस्था निकै जीर्ण हुदै गएको बताउनुभयो । तर सरकारी विद्यालयले दिने गुणस्तरीय शिक्षाका बिषयमा केही प्रतिक्रिया दिनु भएन ।

विद्यार्थीहरुलाई प्रयाप्त कक्षकोठाको व्यवस्थापन गर्न स्थानीय सरकार, कर्णाली प्रदेश सरकार, संघीय सरकार देखि सामाजिक संघ संस्थासम्म पुगेपनि कसैले सुनुवाई नगरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘हामी विद्यार्थीको दुख प्रति निकै संवेदनशील छौँ । तर, विद्यार्थीको पीडा बुझिदिने सरकार भेटाउन सकेका छैनौँ । नजिकैको स्थानीय सरकारले पनि यो विद्यालयलाई उपेक्षा गरिरहेको छ ।’

photo20220325jumla (2)

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुढाले भन्नु भयो–‘विद्यालयको दरबन्दीमा दुई जना शिक्षक छन् । निजी एक, इसिडी शिक्षक एक र कार्यालय सहयोगी एक जना गरी पाँच जना शिक्षक, कर्मचारी छन् । उनीहरू विद्यालयमा आउने चौरमा विद्यार्थी पढाउने र घर फर्किने गर्छन् ।’

कनकासुन्दरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख नारायण न्यौपाने विद्यालयको भौतिक संरचना निकै जीर्ण अवस्थामा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो–‘विद्यालयको पठनपाठन र भौतिक संरचनाको अवस्था हेर्दा निकै दयनीय देखिएको छ । यो अवस्थाले गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिँदैन ।’

तत्काल विद्यार्थी बस्नका लागि एउटा कक्षाकोठा मर्मत गर्न सकिने बजेट विनियोजन गरिएको उहाँले बताउनु भएको छ । एउटा भवनको मर्मत गरेमा विद्यार्थीलाई बस्न मिल्ने विद्यालय प्रशासनले जनाएको छ ।

अन्य

भिडियो