INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारमा जनशक्ति नहुँदा व्यवस्थापनमा समस्या

गुल्मी कारगारमा एक वर्षदेखि जनशक्ति नहुँदा कारागार व्यावस्थापनमा समस्या भएको छ । गुल्मी कारागारमा अधिकृतसहित १० जनाको दरबन्दी छ । कारागारमा अहिले स्थायी कर्मचारी एक जना सुब्बा मात्र छन् । कारागार सम्वेदनशील क्षेत्र हो ।

कारागारबाट एक जना कैदी / बन्दी भागे वा मृत्यु भएमा राष्ट्रिय बिषय बन्छ । तर, कर्मचारी व्यवस्थापनमा राज्यनै उदासिन देखिएको छ ।

कारागारको  कार्यालय सञ्चालनसँगै ना कैदी बन्दीको व्यवस्थापन गर्न जनशक्ति आवश्यक पर्छ । हाल कारागारमा एक जना करार कम्प्युटर अपरेटर र दुई जना कार्यालय सहयोगीको भरमा छ ।

लामो समयदेखि स्वास्थ्यकर्मी नभएका कारण कैदी बन्दीहरूको उपचारमा समेत समस्या परेको छ । कारागारमा दैनिक २ /३ जना कैदी बन्दी बिरामी पर्ने गरेका छन् । नियमित स्वास्थ्य उपचार गराउन पर्ने ज्येष्ठ नागरिक भएकाले स्वास्थ्यकर्मी नहुँदा निकै गाह्रो भएको निमित्त कारागार प्रमुख रेश्मीराज पन्थीले बताउनु भयो ।

‘घ’ श्रेणीको गुल्मी कारागारमा पाँच महिला र २० पुरूष गरि २५ जनाको क्षमता हो । अहिले कारागारमा कैदी पुरुष २४ र बन्दी ४० तथा महिला कैदी ४ र बन्दी ४ जना गरेर ७२ जना रहेका छन् । ६५ वर्ष माथिका दुई जना ज्येष्ठ नागरिक छन् ।

कारागारमा जनशक्तिको मात्रै नभई भौतिक सङ्रचनाका कारण वर्षौदेखि कैदी / बन्दी व्यवस्थापनमा मुस्किल परिरहेको छ । क्षमताभन्दा तेब्बर कैदी / बन्दी छन् । जसका कारण सुत्न, खानेपानी, शौचालयसँगै, पानी चुहिने लगायतका समस्या कारागारका छन् ।

जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले कारागारमा केही समस्या भएकाले समाधानको पहल थालिएको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले केही समयमै कार्यालय प्रमुखहरूको छलफलबाट समाधानका उपायहरूका बिषयमा कुरा गर्ने बताउनु भयो ।

अन्य

भिडियो