वीरेन्द्रनगर नपा-९ का २० वर्षीय कमलसिं मेहत्तर पोडे र उनका १७ वर्षीय भाइ सुरज मेहत्तर पोडेलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतले वंशजको आधारमा नागरिकता दिने ऐन नबनेको भन्दै नागरिकता नदिएको पीडितद्वयले गुनासो गरेका छन् ।
नेपालको संविधान को भाग २ अन्तर्गत दफा ११ को उपदफा ३ बमोजिम संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु वा आमा नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नागरिकता प्राप्त गर्न सकिने भनी उल्लेख गरेको छ ।
उक्त प्रावधान अनुसारका कागजात पेश गर्दासमेत प्रमुख जिल्ला अधिकारी महादेव पन्थले नागरिकता दिन नमानेको पीडित मेहत्तर पोडेले गुनासो गरे ।
नागरिकता प्राप्तको लागि पहल गरिदिन कमल मेहत्तर पोडेले इन्सेक सुर्खेतलाई ०७३ चैत ११ गते निवेदन दिएपछि कमल निजका मावली बाजे बसन्त बिक र अधिकारकर्मीसहितको टोलीले प्रजिअ पन्थसमक्ष चैत १३ गते नागरिकता ऐन २०६३ को दफा ३ को उपदफा १ बमोजिम कुनै व्यक्तिको जन्म हुँदा निजको बुवा वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ भन्ने आधारमा जन्म, बुवाको मृत्यु दर्ता तथा कमल र सुरजको नाममा रहेको जग्गाधनी प्रमाणपत्र सहितको निवेदन दिँदासमेत प्रजिअ पन्थले वंशजको आधारमा नागरिकता दिने ऐन बनि नसकेको भन्दै उनीहरूलाई नागरिकता दिन नसकिने बताए ।
कमल र सुरजका बुवा काठमाडौँ जिल्ला सौखेल सेतिदेवी गाविस-६ निवासी प्रेमबहादुर मेहत्तर पोडेले ०४२ चैत ३१ गते प्राप्त गरेको नागरिकता नं १५८७३ को प्रमाणपत्रको आधारमा बसाइसराईको कागजात नलिएसम्म नागरिकता प्रदान गर्न नमिल्ने, वंशजको आधारमा नागरिकता प्रदान गर्नका लागि अब बन्ने नागरिकता ऐन नाआएसम्म उनीहरूलाई नागरिकता नै दिन नमिल्ने र काठमाडौँ जिल्ला प्रशासनबाट मात्रै उनीहरूलाई नागरिकता दिन सकिने प्रजिअ पन्थको जिकिरले नेपालको संविधानलाई ठाडै उपहास गरेको कानुन व्यावसायीहरूको आरोप छ ।
वरिष्ठ अधिवक्ता भुषणकुमार मानन्धरले भने-‘वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने ऐन नबनिसकेको तथा नागरिकता ऐन ०६३ खारेज नभएपनि सोही ऐन बमोजिम कमल र सुरजले वंशजकै आधारमा नागरिकता प्राप्त गर्नमा कुनै कानुनी बाधा अडचन छैन ।’
नेपालको जुनसुकै स्थानबाट नागरिकता प्राप्त गरेको व्यक्तिका छोराछोरीले जहाँसुकै बसेको भएपनि वंशजको आधारमा नागरिकता प्राप्त गर्न सक्ने संवैधानिक व्यवस्थालाई अन्य ऐन कानुनले प्रभाव पार्न नसक्ने उनले बताए ।
यस्तै अधिवक्ता नन्द भण्डारीका अनुसार वंशजको आधारमा नागरिकता प्राप्त गर्नका लागि यस्ता घटनाहरूको हकमा सर्वोच्च अदालतले दिएका आदेशका नजिरहरूलाई समेत लत्याउने गरी कमल र सुरजलाई नागरिकता पाउनबाट वञ्चित गरिएको छ ।
नेपालको संविधान भाग २ धारा १० र ११, नागरिकता ऐन ०६३ को दफा ३ (१) नागरिकता नियमावली ०६३ को दफा ३ (१) बमोजिम नै कमल र सुरजले नागरिकता प्राप्त गर्न सक्ने अधिवक्ता भण्डारीले उल्लेख गरे ।
रोजगारीको सिलसिलामा सुर्खेत आएका प्रेमबहादुर पोडेको ०५८ वैशाख १५ गते मृत्यु हुनुभन्दा १ वर्षअघि उनकी पत्नी तारा पोडेले अर्को विवाह गरेपछि मावलीको संरक्षणमा बसेका कमल र सुरज निरक्षर छन् । दुवै दाजुभाइले मजदुरी गरेर जिवीकोपार्जन गर्दै आएका छन् । यसअघि पोडे दाजुभाइले नागरिकता प्राप्तिको लागि निवेदन दिँदै आएपनि स्थानीय प्रशासनले यसरी नै फर्काइ दिने गरेको उनीहरूले बताए ।