खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड मुगु अन्तरगत खत्याड गाँउपलिका–११ स्थित रातापानी र सोरु गाँउपालिका–९ कालै खाद्य बिक्री केन्द्रमा ढुवानीको जिम्मा लिएको ठेकदारले समयमा खाद्य ढुवानी नगर्दा यी क्षेत्रका उपभोक्ता सहुलियतको खाद्यन्न पाउनबाट बञ्चित भएका छन् ।
यस आर्थिक वर्षमा खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड, सुर्खेतबाट सोरु गाँउपालिका–९ कालै बिक्री केन्द्रका लागि ३ हजार क्विन्टल खाद्यन्न ढुवानी गर्ने जिम्मा हिमाल निर्माण सेवाले पाएको छ । खत्याड गाँउपालिका–११ स्थित रहेको बिक्री केन्द्रका लागि ८ सय क्विन्टल सिद्धार्थ निर्माण सेवाले जिम्मा पाएको भएपनि दुबै ठेकदारले हालसम्म ढुवानी नगर्दा उपभोक्ताले सहुुलियतको खाद्यन्न पाउनबाट बञ्चित भएका हुन ।
सुर्खेतबाट ढुवानीको जिम्मा पाएका ठेकदार पक्षले हालसम्म खाद्यन्न ढुवानी नगर्दा दुबै बिक्री केन्द्रमा खाद्यन्न मौज्जदा शुन्य छ । ठेकदारलाई छिटो भन्दा छिटो ढुवानीकालागि कार्यालयबाट ताकेता गरिएको भएपनि ठेकदार पक्षले आफनो ढुवानीको जिम्मा असारसम्म भएकाले त्यति बेलासम्म ढुवानी गरिसक्ने जवाफ दिने गरेको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड, मुगुका प्रमुख पुष्क भामले बताउनु भएको छ ।
प्रमुख भामका अनुसार “ठेकदारले समयमा खाद्यन्न ढुवानी नगर्दा सर्वसाधरणले सुहलियतको खाद्यन्न बिक्री केन्द्रबाट नपाएको गुनासो कार्यालयमा आउने गरेको छ ।”
गाँउ नजिकको बिक्री केन्द्रमा सहुलिएतको खाद्यन्न नपाएको सात महिना भइसक्यो बिक्री केन्द्र ताला लगाएर बन्द छ । बिक्री केन्द्रमा प्रति ३० केजी बोराको १ हजार ४ सय ५० रुपियाँमा पाउने खाद्यन्न व्यापारीबाट किन्दा त्यही खाद्यन्न १ हजार ८ सय रुपियाँदेखि २ हजार रुपियाँसम्म किन्नु पर्ने बाध्यता छ । अहिले हिमापातले गर्दा आवतजावतमा समेत समस्या भएको समयमा खाद्यन्न जोहो गर्न एक घण्टा टाढा तारापानी बजार जानु परेकोे सोरु गाँउपालिका–९ का नन्दलाल बिकले गुनासो गर्न भयो ।
कालै बिक्री केन्द्रमा ढुवानीको जिम्मा लिएका हिमाल निर्माण सेवाका प्रोप्राइटर हिमाल टमाटा भन्नु हुन्छ । हाम्रो ढुवानीको जिम्मा असारसम्म हो । हामीले त्यो भन्दा अगाडीनै ढुवानी गर्दा हामीलाई समेत फाइदा हुन्छ । तर हिमपात तथा वर्षातका कारण सडक अवरुद्ध हुँदा समयमै ढुवानी नभएको हो । हिमपातले अवरुद्ध भएको सडक संचालनमा आउने बित्तिकै ढुवानी हुने प्रोप्राइटर टमाटाले आश्वासन दिनु भयो ।