शारदा नगरपालिका–१० पैयाँखर्कस्थित जनता प्राथमिक विद्यालयका करिब ६३ बालबालिका दुई वर्षदेखि खुला आकाश मुनि अध्यापन गर्न बाध्य भएका छन् । विद्यालयको छाना हावाहुरीले उडाएको करिब दुई बर्ष पुगेपनि समयमा मर्मत नहुँदा पठनपाठनमा समस्या भएको उक्त विद्यालयको कक्षा १ मा अध्यनरत हिरा खड्काले जानकारी दिनुभयो ।
२०७६ चैत ११ गते बेलुकी आएको हावाहुरीले जस्तापाताले छाएको दुई कोठे विद्यालय भवनको छाना उडाएको थियो । विद्यालयको छाना हावाहुरीले उडाएपछि विद्यार्थीहरू खुला आकाशमुनि बसेर पढ्न बाध्य भएका छन् । “पानी परेको दिनमा बालबालिकाहरू विद्यालयमा पढ्न नै आउदैनन ।” विद्यालयका प्रद्यानाध्यापक डम्बर चलाउनेले बताउनुभयो ।
‘विद्यालयको छाना हावाहुरीले उडाएको करिब २ वर्ष पुग्न थालेको छ, मर्मत गर्ने पैसा विद्यालयमा भएन्, अन्य समयमा जसोतसो पठनपाठन भइरहेको भएपनि वर्षातमा समस्या भयो, कोरोनाका कारण केही दिन विद्यालय बन्द रह्यो, उहाँले भन्नुभयो ‘पानी परेको दिन र आकाशमा बादल लागेको दिन बालबालिकाहरू पढ्न आउदैनन् । शिशु कक्षा, कक्षा १ र कक्षा २ का विद्यार्थीलाई सँगै राखेर पढाउने प्रयास गरेपनि प्रभावकारी नभएको उहाँको भनाइ छ ।
२०३३ सालमा स्थापना भएको यस विद्यालयमा हाल ६३ जना बालबालिकाले अध्ययन गरिरहेका छन् । विद्यालयका प्रद्यानाध्यापक चलाउने हावाले छाना उडाएको भवनको नयाँ छाना राख्नको लागि माग गरेपनि नगरपालिकाले बेवास्ता गरेको आरोप लगाउनु भयो ।
‘विद्यालय व्यवस्थापन समितिको बैठकबाट निर्णय गरी नगरपालिकामा छाना मर्मतको लागि बजेट माग गरेका थियौँ, तर यहाँबाट हुँदैन भनि दुई/चार हजार रुपियाँ दिन्छ, उतै जानुहोस भनेर फर्काइदियो, उहाँले भन्नुभयो ।
यता हावाले छाना उडाएको भवनको मर्मतको लागि शारदा नगरपालिका वडा नम्बर १० ले यस वर्ष तीन लाख रुपियाँ विनियोजन गरेको वडा अध्यक्ष रेशम बहादुर बुढाथोकीले जानकारी दिनुभयो । यसै वर्ष पुर्ननिर्माण सम्पन्न गर्ने गरी तीन लाख रुपियाँ विनियोजन गरेको उहाँले बताउनुभयो ।
भवनको छाना राख्नको लागि नगरपालिकामा धेरै माग गरेपनि बजेट विनियोजन नभएपछि वडामा रहेको बजेट विनियोजन गरेको उहाँको भनाई छ । यसका लागि सम्झौता भइसकेको तर कामको शुरुवात नभएको विद्यालयले जनाएको छ । अबको केही दिनमा नै कामको थालनी हुने वडा नम्बर १० वडाअध्यक्ष रेशम बहादुर बुढाथोकीले जानकारी दिनु भएको छ ।
