INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँपालिकाले बिना विकल्प छाउगोठ भत्कायो, सचेतनाको कमीले समाजले स्वीकार्नै सकेन !

साइपाल गाउँपालिकाले चार पटकसम्म छाउगोठ भत्काए पनि समाजले स्वीकार गर्न नसकेपछि यस क्षेत्रका महिलाहरुले महिनावारी भएको समयमा ओडार र खुल्ला चौरमा त्रिपालमुनी बस्न बाध्य भएका छन् ।

साइपाल गाउँपालिका क्षेत्रमा बनाइएका छाउगोठहरु भत्ताउने कार्य गाउँपालकाले चार पटक गरेको भएपनि समाजले स्वीकार गर्न नसकेपछि महिनावारी भएको समयमा महिलामाथि हुने विभेद कायमै रहेको हो ।

धार्मीक क्षेत्रको रुपमा रहेको साइपाल गाउँपालिकामा छाउ भएका बेला महिलाहरुलाई परिवारले घर भित्र बस्न नदिने, दहि, दुध खान नमिल्नेलगायतका अन्धविश्वास र मान्यता रहदै आएकोले महिलाहरुले सास्ती खेप्नु परेको स्थानीय उजली बोहराले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘छाउगोठमा बसे गाउँपालिकाले भत्काउछ । घरपरिवारले देवता रिसाउछन भनेर घर भित्र बस्न दिदैनन् । म छाउ भएको बेला कहिले ओडार त कहिलै खुला आकासमा रात विताउने गर्छु । मङ्सिर पुसको चिसोको सिरेटो लाग्छ ।’

photo20220113bajhang (2)

यो समस्या साइपाल गाउँपालिकाको मात्रै हैन जिल्लाका अधिकांश ग्रामीण भेगमा महिलाहरुले समस्या भोग्दै आएका छन । साइपाल गाउँपालिकाका महिलाहरु छाउ भएको बेला खुल्ला आकास तथा ओडारमा पाल हालेर बस्दै आएका छन् ।

गाउँपालिकामा छाउपडी प्रथा उन्मूलन गर्न गाउँपालिकाले विभिन्न खाले जनचेतनामूलक कार्यक्रम तथा छाउगोठ भत्काउने अभियान सुरु गरेपनि महिलाहरुलाई झनै समस्या थपिदै गएको स्थानीय महिलाहरुको गुनासो रहेको छ ।

सम्बिृद्ध गाउँपालिका बनाउनका लागि छाउगोठ भत्काएर मात्रै नहुने भएकाले समाजले स्वीकार गर्न वातावरण तथा चेतना नहुँदासम्म साइपाल गाउँपालिकामा मात्रै नभइ सबै ग्रामीण क्षेत्रमा विकास तथा छाउपडी प्रथा उन्मूलन नहुँने साइपाल गाउँपालिकाका स्थानीय तिलक विकले बताउनु भयो ।

साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले छाउपडी कुप्रथामा सुधार ल्याउनका लागि छाउगोठ भत्काउने अभियान सञ्चालन गरिएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘छाउगोठ भत्ताएपछि महिलाहरु घर भित्रै बस्छन भनेर गरिएको हो । केही स्थानमा सुधार भएको छ । समाजमा जडागाडेर बसेको कुप्रथा र कुसस्कारलाई सजिलै उन्मूलन गर्न समस्या हुने रहेछ । छाउगोठ भत्काएर केही ठाउँमा सुधार पनि भएको छ । सबै ठाउँमा नराम्रो मात्रै भएको छैन ।’

साइपाल गाउँपालिकाकामा बसोवास गर्दै आएका लामा र तामाङ समुदायले छाउपडी प्रथा मान्दैनन् । यी समुदायका महिलाहरु छाउ भएको समयमा घर भित्रै बस्दछन् । तर, अन्य जातीका महिलाहरु छाउ भएको समयमा घरभित्र बस्न नहुँने परम्परागत अन्धविश्वासका कारण ओडार र त्रिपालमूनी बस्न बाध्य छन् ।

photo20220113bajhang (1)

साइपाल गाउँपालिका धुलीकी पुजा तामाङले देउता रिसाउने डरले अहिले पनि अन्य समुदायका महिलाहरुलाई घर भित्र बस्न, दहि, दुध धान नदिने, बोटविरुवालाई छुन नदिनेलगायतका कार्यहरु गरिने भएको भएपनि तामाङ र लामा समुदायका महिलाहरु छाउ भएको समयमा पनि घरभित्रै बस्ने र दहि, दुध खाने गरेको बताउनु भयो ।

उहाँले भन्नु भयो– छाउपडी प्रथा नमाने देवता रिसाउछन् भन्छन । हामी पनि साइपालमै बस्छौँ । छाउ भएको बेला घरभित्रै बस्छौ । दहि, दुध, महि, घिउ खान्छौँ । अनिष्ट पनि भएको छैन् । देउता रिसाएको पनि थाहाँ छैन् । मनको डर अन्धविश्वास मात्रै हो । देवताले विभेद गर्छ होला र ? ।’

स्थानीय डोल्मा तामाङले भन्नु भयो, ‘हामी छाउ भएको बेला खाना आफै पकाउँछाँै । घरपरिवारसँगै बस्छौँ । खाना सँगै खान्छाँै । पुजा मात्रै गर्दैनाँै । हामीलाई त केही भएको छैन् । हाम्रो समुदायको साइपालको लाफडिमा मात्रै ३५ घर छन । ३५ घरकै कोहीले पनि छाउ मान्दैनन् ।’

साइपाल गाउँपालिकाकी किडी रोकायले पहिलैदेखि चलिआएको रिती भएकोले देउता रिसाउने डरले घरभित्र बस्न नसकिने र बस्न नदिएको बताउनु भयो ।

उहाँले भन्नु भयो– पहिला छाउगोठ हुँदा सजिलो भएको थियो । गाउँपालिका र प्रहरीले छाउगोठ भत्ताए पनि छाउ भएका महिलाहरु अहिले पनि घर भित्र बस्न पाएका छैनन् । छाउगोठ नहुँदा महिलाहरुले आगनमा त्रिपाल लगाएर बस्नु परेको छ । कोही महिलाहरु ओडारमा पनि बस्ने गरेका छन् । छाउ भएको समयमा म पनि पाल मुनी बस्ने गरेकी छु । पानी परेको दिन रातभरी नसुती बस्ने गरेका छौँ । महिलामाथि भएका हिंसाका घटना सुन्दा झन डर लाग्छ । डरैडरले बस्नु पर्छ ।’

photo20220113bajhang (3)

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमलप्रसाद चौधरीले जिल्लाभरी ४ सय २५ छाउगोठ रहेकोमा हालसम्म १ सय ४३ छाउगोठ भत्काइएको बताउनु भयो ।

उहाँले भत्ताउन बाँकी रहेका छाउगोठ भत्काउने अभियानलाई निरन्त्रता दिने बताउनु भयो ।

छाउपडी प्रथा उन्मूलन गर्न नगरपालिका तथा गाउँपालिकाले छाउगोठ भत्काउने अभियान सञ्चालन गरेको भएपनि जिल्लाका धामीलेक, खप्तडछान्ना, मस्टा, तलकोट, साइपाल, वित्थडचिर, दुर्गाथली गाउँपालिका र बुगंल नगरपालिकाका महिलाहरु अहिले पनि महिनावारी भएको समयमा ओडार र त्रिपालमूनी बस्न बाध्य भएका छन् ।

अन्य

भिडियो