INSEC Online

📅 २०८३ जेष्ठ २१

तेह्र वर्षीय बालक इँट्टाभट्टाबाट उद्धार

भक्तपुरको एक इँट्टाभट्टामा काम गर्ने रोल्पा राङ्कोटका १३ वर्षीय बालक कमल रानामगरलाई जिल्ला बालकल्याण समिति भक्तपुरको नेतृत्वमा जिल्ला बालकल्याण समिति रोल्पामार्फत अभिभावकको जिम्मा लगाएको राससले जनाएको छ ।

नगरकोट नपा-३ ताथली भक्तपुरमा रहेको एसटी ब्रिक कम्पनीमा काम गर्ने ती बालकलाई सोही इँट्टा कम्पनीका सञ्चालकले जिल्ला बालकल्याण समिति भक्तपुरलाई खबर गरेपछि उनको उद्धार सम्भव भएको हो ।

बावु वैदेशिक रोजगारीमा रहेको र आमाले अर्को विवाह गरेका कारण कान्छी आमासँग बस्दै आएका उनी कक्षा ६ मा अध्ययन गर्दागर्दै आफ्नै फुपाजुका साथमा भक्तपुर पुगेका थिए । इँट्टाभट्टामा बिहानदेखि बेलुकासम्म काम गरेबापत दैनिक १ सय रिपयाँ ज्याला पाउने गरेको उनले बताए ।

जिल्ला बालकल्याण समिति भक्तपुरले उद्धार गरेका ती बालकलाई बाल विकास समाज भक्तपुरका कर्मचारी विदुर नेपालले जिल्ला बाल कल्याण समिति, रोल्पाको रोहवरमा बालकका अभिभावकलाई बुझाएको थियो ।

बाबु वैदेशिक रोजगारीमा गएका तथा आमाले अर्को विवाह गरेका रोल्पाका अधिकांश बालबालिका तथा सहाराविहीन टुहुरा बालबालिका मजदुरका रुपमा काठमाडौँ र भक्तपुरका विभिन्न इँट्टा भट्टामा रहेको बाल अधिकारकर्मी विदुर नेपालले बताए ।

जिल्ला बालकल्याण समिति, रोल्पाले विभिन्न क्षेत्रसँग समन्वय गरी हालसम्म रोल्पाका १२ बालबालिकालाई इँट्टाभट्टाबाट फिर्ता गरेको जिल्ला बालकल्याण समिति रोल्पाका कपिलदेव भण्डारीले जानकारी दिए ।

गरिबी र असहज पारिवारिक वातावरणका कारण रोल्पाका अधिकांश बालबालिका जोखिमपूर्ण काम गर्न बाध्य भएको महिला विकास अधिकृत लोकेन्द्रा आचार्यले बताइन् ।

अन्य

भिडियो