छत्रेश्वरी गाउँपालिका–३ झिम्पेकी ७० वर्षीया जामनी बुढाको ०७८ असार ११ गते राती हत्या गरेको आरोपमा प्रहरीले चारजनालाई गिरफ्तार गरेको छ ।
हत्या आरोपमा मृतककी काइँली बुहारी २४ वर्षीया सुशीला बुढालाई पुस ३ गते र मृतकको छोरा नाता पर्ने सोहि ठाउँका १९ वर्षीय कमल बुढालाई पुस १० गते गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर श्यामप्रकाश यादवले जानकारी दिनुभयो ।
इन्स्पेक्टर यादवका अनुसार दुबैजनाले मिलेर महिलाको घाँटी थिचेर हत्या गरेको र कामको सिलसिलामा भारतमा रहेका मृतकका छोरा र गाउँलेलाई भने उनी भर्याङबाट लडेर मरेको भन्दै असार १२ गते मृतकको अन्तिम संस्कार गरिएको थियो ।
घटनाबारे तत्काल प्रहरीलाई कसैले जानकारी नगराएपछि गोप्य सूचनाको आधारमा प्रहरीले अनुसन्धान थालेको र प्रमाण मेटाउन मृतककै माइली बुहारी २८ वर्षीया चमेली बुढा र कमलको बुवा ४८ वर्षीय बालाराम बुढा मगरले समेत साथ दिएको खुल्न आएको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा अनुसन्धान गर्न आरोपित तीनै जनालाई पुस ३ गते गिरफ्तार गरी थप अनुसन्धान थालेपछि केही समयदेखी फरार रहेका कमल बुढालाइ गाउँमै लुकेर बसेको अवस्थामा प्रहरीले पुस १० गते गिरफ्तार गरेको इन्स्पेक्टर यादवले बताउनुभयो ।
मृतकका छोरा ३३ वर्षीय नेत्रलाल बुढाले आमाको मृत्यु नभई हत्या भएको भन्दै पुस ३ गते आरोपितहरू विरूद्ध इलाका प्रहरी कार्यालय लुहाममा पुस ३ गते उजुरी दिएका थिए ।