INSEC Online

📅 २०८३ जेष्ठ २१

पठनपाठन नभएको विरोधमा विद्यार्थीद्वारा सडक अवरूद्ध

कोशी गाउँपालिका‒१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले पठनपाठन नभएको आरोप लगाउँदै विरोधमा मङ्सिर २० गते पूर्व‒पश्चिम राजमार्ग अवरूद्ध पारेका छन् ।

पूर्व‒पश्चिम राजमार्ग अन्तरगत इनरूवा‒भण्टावारी सडक खण्डको लौकहीमा विद्यार्थीहरूले यातायातका साधन सञ्चालनमा अवरोध गरेको कोशी गाउँपालिका‒१ का सुरेन्द्र मेहताले बताउनु भयो ।

विद्यार्थीहरूले नियमित पठनपाठन नभएको, विषयगत शिक्षक नभएको र विद्यालय खुलेर पनि पढाइ नभएको आरोपमा सडक अवरूद्ध गरेको मेहताको भनाइ छ ।

तिहारपछि विद्यालय खुलेको एक महिना बिती सक्दा पनि पुरा घण्टी पठाइ नभएका कारण विरोधमा सडक अवरूद्ध गरिएको राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत आरती यादवले बताउनु भयो ।

राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक होली यादवले विद्यालयमा नियमित रूपमा पठनपाठन भइरहेको बताउनु भयो । उहाँले विद्यालयकै शिक्षकको उस्काहटमा विद्यार्थीले सडक अवरोध गरेको बताउनु भयो ।

विद्यालयमा नियमित पठनपाठन कायम गर, विद्यालयभित्र राजनीति बन्द गर जस्ता नारा लगाएर सडक अवरोध गरीरहेका विद्यार्थीहरूलाई विद्यालयको समस्या विद्यालयमै समाधान गर्न आग्रह गरी अवरूद्ध सडक सञ्चालनमा ल्याएको सशस्त्र प्रहरी बल लौकहीका इन्स्पेक्टर भुवन पाण्डेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

विद्यार्थीले एक घण्टा सडक अवरोध गरेको इन्स्पेक्टर पाण्डेले बताउनु भएको छ ।

Photo 20211208 Sunsari (1)

Photo 20211208 Sunsari (2)

Photo 20211208 Sunsari (3)

अन्य

भिडियो