INSEC Online

📅 २०८३ जेष्ठ २१

सप्तरी घटनाका पाँचै जना मृतकको शवयात्रा निकालियो

सप्तरीमा भएको झडपमा गोली लागेर मृत्यु भएका पाँच जना मृतकको शवयात्रा फागुन २८ गते राजविराजबाट निकालिएको छ ।

Photo20170311Saptari

दिउँसो एक बजे राजविराजबाट मोटरसाइकल, कार, जिप, म्याजिक भ्यान, बससहित शवयात्रा निकालिएको थियो ।

हनुमाननगर, भारदह, कञ्चनरुप, सितापुर, रुपनी, कठौना, कदमाहा हुँदै सिरहाको लहानस्थित शहीद चोकसम्म शवयात्रा लगिने कार्यक्रम रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, सप्तरीले जनाएको छ । मृतकहरूको शव धरानबाट फागुन २७ गते मध्यराति १२ बजे सदरमुकाम राजविराज ल्याई रातभरी गजेन्द्र चोकमा राखिएको थियो ।

Photo20170311Saptari1

शवयात्रामा सङ्घीय गठबन्धन एवम् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झालगायत मोर्चाआबद्ध विभिन्न पार्टीका केन्द्रीय नेताहरू सहभागी छन् ।

शवयात्रा पश्चात फागुन २८ गते नै अन्तिम संस्कारका लागि पाँचै जनाको परिवारजनलाई शव जिम्मा लगाइने मोर्चाका सप्तरीले जनाएको छ ।

Photo20170311Saptari2

सप्तरीको बसविट्टी-५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा गत सोमबार भएको नेकपा (एमाले)को मेची महाकाली राष्ट्रिय अभियान बिथोल्न पुगेका प्रदर्शनकारीहरूमाथि प्रहरीले गोली चलाउँदा मलेठ गाविस-२ का २२ वर्षीय सञ्जन मेहता, मलेठ-४ का ५० वर्षीय पिताम्बर मण्डल, प्रसवनी-४ का ४२ वर्षीय आनन्दकुमार साह, मलेठ-४ का विरेन्द्र महतो र जमुनी मधेपुरा-१ कोटवीका ५७ वर्षीय इनरदेव यादवको मृत्यु भएको थियो ।

इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार सप्तरी घटनाको विरोधमा मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण लामो तथा छोटो दुरीको सवारी साधन नचल्दा फागुन २८ गते पनि सिरहाको जनजीवन प्रभावित भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विश्वमणी पोखरेलले शव यात्रा कार्यक्रम रहेकोले अप्रिय घटना हुन सक्ने भएकोले बाहिरबाट आएका सवारी साधनहरूलाई सुरक्षित स्थानमा रोकिएको बताए ।

U
U

अन्य

भिडियो