INSEC Online

📅 २०८३ जेष्ठ २१

वषौँदेखि खानेपानीको समस्या समाधान नहुँदा स्थानीय समस्यामा

वषौँदेखि खानेपानीको समस्या झेल्दै आएपनि अझै आफूहरुको खानेपानीको समस्या समाधान नभएको सुर्नयाँ गाउँपालिका–६ का स्थानीयले गुनासो गरेका छन् ।

गाउँमा खानेपानीको अभाव हुँदा आफूहरुको गाउँ धुलिधारबाट एक घण्टाको दुरीमा रहेको मुहानबाट खानेपानी बोक्नु पर्ने बाध्यता रहेको स्थानीय विक्रम विष्टले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो–  ‘हिउँदेयाम सुरु भएलगत्तै खानेपानीकै चिन्ता हुन्छ । हाम्रो बस्तीमा वर्षा नहुँदासम्म खानेपानीको निकै समस्या हुन्छ ।  वर्षातमा बलेसीको पानीले जोहो गर्दै आएका छौँ । हिउँदमा नजिकको कुँवामा सुख्खायाममा पानी सुक्ने भएकोले टाढाको मुहानबाट ४० लिटरको ग्यालिनमा पानी बोक्नु पर्ने बाध्यता छ ।’

गाउँमा खानेपानीको समस्या हुँदा घरको एक जनाले खानेपानीका लागि दिनभरी खटिनु पर्ने बाध्यता रहेको स्थानीय भागरथी अवस्थीले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘पानीको ग्यालिन बोक्दाबोक्दा टाउको खुइलिसक्यो । तर, हाम्रो समस्या कसैले हेरेनन् । हामीले खानेपानीका लागि वर्षेनी भौतारिनु परेको छ । गाउँमा खानेपानीको अभाव हुँदा यहाँका महिलाहरूले बढी समस्या भोग्नु परेको छ । ’

यहाँका अधिकाङ्स परिवारको पानीको जोहो गर्ने जिम्मा महिलाको भएकाले खानेपानीको अभाव हुँदा अन्य भन्दा महिलाहरूलाई बढी समस्या हुने गरेको सुर्नया गाउँपालिका–६ की गरीमा अवस्थीले बताउनु भयो ।

निर्माचनका बेला गाउँमा खानेपानीको व्यवस्था गरिदन उम्मेदवारहरुलाई आग्रह गरेपनि अझै समस्या समाधान नभएको स्थानीय जनक विष्टले बताउनु भयो ।

उहाँले भन्नु भयो –‘निर्वाचनका बेला नेता चिल्ला भाषण दिन्छन् । सोझासाझा नागरिकबाट फाइदा लिन्छन । खानेपानी जस्तो आधारभूत कुरामा पहुँच पु¥याउन आग्रह गरेपनि कसैले सहयोग गर्दैनन् । नेताहरू जितेपछि गाउँमै आउँदैनन् ।’

सुर्नया गाउँपालिका–६ धुलिधारका ७५ बढी घरपरिवार प्रत्येक वर्ष हिउँद र सुख्खायाममा खानेपानीको चरम समस्या झेल्दै आएका छन् । खानेपानी समस्याका कारण बालबालिकालाई समयमै विद्यालयमा पठाउन र सरसफाई गर्न समेत गाह्रो भएको स्थानीय कृष्णदत्त अवस्थीले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘गाइभैसीका लागि समेत बोकेर पानीको जोहो गर्नु पर्छ । गाउँमा खानेपानी पु¥याउँछु भन्ने कता गए थाहा नै छैन् । हाम्रा लागि त सरकार नै छैन् जस्तो छ ।’

पुराना कुँवामा पानी सुक्दै गएपछि खानेपानी अभाव चुलिएको स्थानीय देवदत्त अवस्थीले बताउनु भयो ।

गाउँपालिकाका थुप्रै ठाउँमा खानेपानीको समस्या रहेको र यसको समाधानका लागि आफूहरू लागिपरेको गाउँपालिकाका अध्यक्ष बिरबहादुर बिष्टले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘क्रमसः खानेपानीको समस्या समाधान गरिरहेका छौँ । अब धेलिधारको समस्याका बारेमा पनि हामीले केहि गछौँ ।’ खानेपानी समस्या समाधानका लागि विभिन्न दातृ निकायहरुसँग समेत समन्वय भइरहेका उहाँको भनाइ छ ।

अन्य

भिडियो