INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यार्थीहरु पाठ्यपुस्तक पाउनबाट वञ्चित

नेपालको संविधान २०७२ मा मौलिक हक अन्तर्गत धारा ३१ मा शिक्षा सम्बन्धी हक र धारा ३९ मा बालबालिकाको हकको व्यवस्था गरिएको भएपनि जिल्लाका अधिकांश विद्यालयमा अध्ययरत बालबालिकाहरुले शैक्षिक सत्र सुरु भएको सात महिना बितिसक्दा समेत पाठ्यपुस्तक पाउन सकेका छैनन् ।

जिल्लाका अंग्रेजी माध्यमबाट पढाई हुने पाँच ओटा  विद्यालयमा अध्ययनरत ८ सय विद्यार्थीहरु पाठ्यपुस्तक पाउनबाट वञ्चित भएपछि पठनपाठनमा समस्या भएको छ ।

कोभिडका कारण भदौ २० गतेदेखि सञ्चालनमा आएका विद्यालयमा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीहरुको पठनपाठन थप प्रभावित भएको छ । ढिलो गरी विद्यालय सञ्चालनमा आएपनि विद्यार्थीहरुले पाठ्यपुस्तक पाउन सकेका छैनन् ।

विद्यार्थीहरुले समय मै पाठ्यपुस्तक नपाउँदा नीजि विद्यालयका पाठ्यपस्तकहरु पढाउनु पर्ने बाध्यता आएकोे महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यपक सुरेन्द्र ऐरले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘जिल्ला सदरमुकामको विद्यालयमा त पाठ्यपुस्तकहरुको अभाव छ । दुर्गम ठाउँहरुको स्थिति कस्तो होला ?’

समयमै पाठ्यपुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको महेन्द्र माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत विद्यार्थी राहुल भट्टराईले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘पाठ्यपुस्तक नहुँदा बोर्डिङ स्कुलका पाठ्यपुस्तकहरु अध्यापन गराइहरेका छन् । बोर्डिङ स्कुलका पाठ्यपुस्तकहरु पढ्नु पर्दा समस्या भइरहेको छ ।’

कोभिड सङ्क्रमण फैलने डरले जारी गरिएको निषेध आदेशका क्रममा घरमै सीमित भएका विद्यार्थीले पढाई सुरु भएको तीन महिना हुँदासम्म पाठ्यपुस्तक नपाउँदा पठनपाठनमा थप समस्या उत्पन्न भएको सिद्धनाथ माध्यमिक विद्यालय जोगवुडाका शिक्षक जयराज पन्तले बताउनु भयो ।

अमरगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमन्त पन्तले नगरपालिका क्षेत्रमा सञ्चालित तीन ओटा विद्यालयमा केही पाठ्यपुस्तक अपुग भएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘सुरुमा बजेट निकासा ढिलाई हुँदा किताब खरिद गर्न ढिलाइ भयो । अहिले प्राथमिक तहका किताबहरु पुगिसकेका छन् । केही पाठ्यपुस्तक पुग्ने क्रममा छन् ।’

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामदत्त भट्टले सदरमुकाम खलंगाकै केही अङ्ग्रेजी माध्यममा पढाई सञ्चालन गरेका विद्यालयमा समेत पाठ्यपुस्तक अपुग भएकोले पाठ्यपुस्तक ल्याउनका लागि प्रयास भइरहेको बताउनु भयो ।

अन्य

भिडियो