INSEC Online

📅 २०८३ जेष्ठ २१

विस्फोटक पदार्थबाट घाइते बालकको उपचारमा इन्सेकको सहयोग

विस्फोटक पदार्थबाट घाइते गुराँस गाउँपालिका–६ दैलेखका १५ वर्षीय नरेश नेपाली र २१ वर्षीया दिदी लीला नेपालीलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।

इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले पीडितका बुबा सहवीर नेपालीलाई कात्तिक १२ गते १० हजार रुपियाँ हस्तान्तरण गर्नु भएको हो ।

राहत रकम हस्तान्तरण गर्दै संयोजक सुवेदीले पीडितको उपचारमा सहयोग पुग्ने विश्वास गर्नुभयो । पीडितको उपचारमा राज्यलाई जबाफदेही बनाउन र पीडितलाई थप सहयोग जुटोस् भनेर राहत रकम दिएको बताउनुभयो ।

पीडितका अभिभावकले इन्सेकद्वारा गठित मानव अधिकार सहायता कक्षमा कात्तिक ९ गते आर्थिक सहयोगका लागि निवेदन दिएका थिए ।

त्यस्तै, कात्तिक १२ गते नै इन्सेक कर्णाली प्रदेशको अगुवाइमा सुर्खेत आँखा अस्पतालमा पीडित बालकको उपचार गरिएको छ ।

आँखा अस्पतालका डक्टर शक्ति सुवेदीका अनुसार बालकको आँखाको नानी र कर्निया फुटेको छ । बालकको भिजन आउने सम्भावना अत्यन्तै कम भएको डा. सुवेदीले जानकारी दिनु भयो ।

इन्सेक कर्णाली प्रदेश संयोजक सुवेदी, फोकल पर्सन दुर्गा थापासहितको टोलीले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, आँखा अस्पताल व्यवस्थापन समितिका पदाधिकारी लगायतको टिमसँग पीडितको उपचार, न्याय र क्षतिपूर्तिका लागि पहल गरेको छ ।

इन्सेकसँगको भेटमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले पीडितको उपचार खर्च, क्षतिपूर्ति र उच्च शिक्षा सम्मको पठनपाठनको व्यवस्थाका लागि जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरी गृह मन्त्रालयमा पठाएको जानकारी दिनुभयो । पीडितको उचित व्यवस्थापनका लागि नेपाल सरकारसँग आवश्यक समन्वय र गृहकार्य भइरहेको उहाँको भनाइ थियो ।

त्यस्तै, पश्चिम कमाण्ड पृतनापति प्रेम शाहीले आफुहरू पीडितको पक्षमा रहेको भन्दै प्रक्रिया झन्झटिलो भएको हुदाँ केही ढिला हुने बताउनुभयो । पीडितको उपचार लगायतको व्यवस्थापनमा राज्यले दायित्व लिनुपर्ने उल्लेख गर्नुभयो ।

नयाँ सवुजगण प्रमुख केशव रायमाझीसँग पनि घटनाका विषयमा समन्वय गरिएको थियो । आँखा अस्पताल व्यवस्थापन समितिले आँखा अस्पतालमा उपचार गर्दा लागेको शुल्क समितिको बैठकबाट निर्णय गराई फिर्ता गराउने अस्पताल व्यवस्थापन समितिका कोषाध्यक्ष टिकाराम आचार्यले प्रतिवद्धता जनाउनु भयो ।

भेटघाटमा इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक सुवेदी, इन्सेक कर्णालीका फोकल पर्सन थापा, आवाज संस्था सुर्खेतकी कार्यकारी निर्देशक पवित्रा शाही, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल सहभागि थिए ।

वीरेन्द्रनगर नपा–७ कटकुवा सामुदायिक वनमा घाँस काटन जाने क्रममा कात्तिक ६ गते उक्त घटना भएको थियो । बालकको देउती अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

2021-10-31 Surkhet (1) 2021-10-31 Surkhet (2) 2021-10-31 Surkhet (3)

अन्य

भिडियो