INSEC Online

📅 २०८३ जेष्ठ २१

एक सातादेखि विद्युत आपुर्ति हुन नसकेपछि सरकारी सेवा प्रभावित

सिमकोट गाउँपालिका–४ हिल्दुम गाउँको खोलामा रहेको हिल्दुम साना जल विद्युत आयोजना आपुर्ति हुन नसकेपछि सदरमुकाम सिमकोट आएका सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।

भदौ २५ गतेदेखि सदरमुकाम सिमकोटमा विद्युत आपुर्ति हुन नसकेपछि जिल्लाका विभिन्न सरकारी कार्यालयबाट प्रवाह हुने सेवा बन्द भएका हुन् ।

चारदिन लगाएर सदरमुकाम सिमकोट आइपुग्नु भएका अदानचुली गाउँपालिकाका स्थानीय जयराज सान्ज्यालले भन्नु भयो–‘नागरिकता बनाउने आशामा सिमकोट आइपुगियो । विद्युत बन्द भएको रहेछ । नागरिकता नबने जानकारी पाएँ । अब नागरिकता नबनाइकन घर जानु पर्ने भयो । फेरि कहिले आउर बनाउनु ?’

जिल्ला प्रशासन कार्यालयबाट नागरिकता, पासपोर्ट, खाद्यान्न, मालपोत कार्यालयबाट जग्गा नामसारी, लालपुर्जा, गाउँपालिकाबाट हुने नागरिकताको सिफारिस, जन्म, मृत्यु, बसाइसराई, ठेक्कापट्टाका विभिन्न सिफारिसहरू विद्युतीय उपकरणमार्फत नै हुने भएका कारण सदरमुकाम सिमकोटमा पुगेका सेवाग्राही रित्तो हात घर फर्कनु परेको सिमकोट गाउँपालिका–२ का कर्ण भण्डारीले गुनासो गर्नु भयो ।

यस्तै जिल्लामा दैनिक जसो सरकारी कार्यालयमा विभिन्न सिफारिस लिनका लागि आउने करिब ७० देखि ८० जना सेवाग्राही त्यत्तिकै घर फर्कनु परेको स्थानीय देवकी ऐडीले बताउनु भयो ।

विद्युत आपुर्ति नहुँदा जिल्ला अस्पतालमा दैनिक दिन सामान्य चेकजाँच गर्न आउने ३५ देखि ५० जना सेवाग्राही र अस्पतालमै भर्ना भएका नौ जना बिरामीको स्वास्थ्य जाँचमा समस्या भएको डाक्टर टसि लामाले बताउनु भयो ।

डाक्टर लामाका अनुसार अहिले दम, निमोनिया, झडापखाला र पेट दुख्ने समस्याका बिरामी भर्ना भएका छन् ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अनुसार जिल्ला प्रशासनबाट केही दिनदेखि जेनेरेटर चलाएर सामान्य सेवा दिँदै आएको भए पनि पर्याप्त सेवा प्रावाह हुन सकिएको छैन ।

प्रजिअ आचार्यले विगत लामो समयदेखि हुम्ला जिल्लालाई राष्ट्रिय प्रसारण लाइनका लागि पहल गरेको भए पनि हुम्ला सडक सञ्जालमा नजोडिँदासम्म सो लाइन हुम्लामा पुग्न नसक्ने बताउनु भयो ।

असोज ८ गतेसम्म विद्युत बन्द भएको हेल्दुम साना जलविद्युत आयोजनाको नहरलाई बाढी पहिरोले लगेपछि झन् ठूलो समस्या उत्पन्न भएको हिल्दुम विद्युत वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताउनु भयो ।

प्रमुख ऐडीका अनुसार थप दुई महिना हुम्लाका सिमकोट र खार्पुनाथ गाउँपालिका उज्यालोबाट प्रत्यक्ष वञ्चित हुनेछन् ।

अन्य

भिडियो