जनकनन्दनी गाउँपालिका–४ बस्ने १२ वर्षीया ममता कामतले प्रहरीले उजुरी दर्ता नगर्दा न्याय नपाउने देखेपछि असोज १२ गते विष सेवन गरी आत्महत्या गरेको पीडित पक्षको आरोप छ ।
कक्षा ७ मा अध्ययनरत बालिका भदौ २३ गते ट्यूसन पढेर घर फर्कँदै गर्दा गाउँकै २२ वर्षीय सञ्जय दास, २० वर्षीय कलेश्वर दास र १९ वर्षीय भिलबा दासले दुर्व्यवहार गरेको पीडित पक्षको आरोप थियो ।
दुर्व्यवहार घटनाबारे इलाका प्रहरी कार्यालय खजुरीमा भदौ २४ गते पीडित पक्षले दिएको उजुरी प्रहरीले दर्ता नगरेको मृतक बालिकाका बाबु सुरेश कामतको आरोप छ ।
प्रहरीले गाउँमै घटना मिलाउन जबाफ दिएपछि पीडित परिवारले जनकनन्दनी गाउँपालिका–४ का वडाध्यक्ष हरिचन्द्र कामतलाई गुहारेका थियो ।
वडा कार्यालयमा भदौ २५ गते छलफल भएपनि घटनाको निष्कर्ष नलाग्दै दुर्व्यवहार घटनाका आरोपित पक्षले होहल्ला गरेपछि छलफल निष्कर्षमा पुग्न नसकेको वडाध्यक्ष हरिचन्द्र कामतले बताउनुभयो ।
न्यायमा ढिलाइ भएपछि बालिकाले आत्महत्या गरेको स्थानीय धुपु कापरले बताउनुभयो । आरोपितहरूले बालिकालाई जिस्क्याउने, दुर्व्यवहार गर्ने गरेकोबारे प्रहरी कार्यालयमा जानकारी गराउँदा समेत प्रहरीले कारवाही प्रक्रिया अगाडि नबढाउँदा बालिकाले आत्महत्या गरेको उहाँले बताउनुभयो ।
प्रहरीले उजुरी दर्ता गरेर आरोपितलाई कानुनी दायरामा नल्याउँदा दुर्घटना भएको उहाँको आरोप छ ।
न्याय दिलाउन प्रहरी प्रशासन अग्रसर नभएको भन्दै आत्मग्लानी भई पीडा सहन नसकेर गहुँमा प्रयोग गरिने विषादी खाएर आत्महत्या गरेको मृतकका दाजु बलिराम कामतले बताउनुभयो । कामतले बहिनीको न्यायको लागि आवाज उठाउँदा आफूमाथि समेत कुटपिट भएको बताउनुभयो ।
इलाका प्रहरी कार्यालय खजुरीका इन्स्पेक्टर रवि मैनालीले पीडित परिवारले उजुरी दिँदा पीडित बालिकालाई लिएर नआएपछि दर्ता प्रक्रियामा ढिलाइ भएको बताउनुभयो ।
पीडित परिवारको उजुरीको आधारमा आरोपित तीनै जनालाई प्रहरी चौकीमा बोलाएर घटनाबारे जानकारी लिएको उहाँको भनाइ छ ।
घटना अनुसन्धानको क्रममा पीडित बालिकाको समेत वयान लिन बोलाएको तर नआउँदा आफूहरूले घटना दर्ता गर्न नसकेको इन्स्पेक्टर मैनालीले बताउनु भयो ।
शवको पोस्टमार्टम असोज १२ गते प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ ।
इन्सेक प्रदेश २ संयोजक राजु पासवान, राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत मनमाया राणा मगरले पीडित परिवारलाई भेट गरी घटनाबारे जानकारी लिनुभएको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटलाई भेटी घटनाको सुक्ष्म तरिकाले अध्ययन गरी दोषीलाई कारवाही गर्न माग गर्नुभएको छ ।