INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या आरोपमा वडाध्यक्ष गिरफ्तार

४५ वर्षीया सुमिन्त्रादेवी यादवको हत्या आरोपमा सबैला नगरपालिका–४ का ५० वर्षीय वडाध्यक्ष पथला भन्ने कुशेश्वर ठाकुरलाई इलाका प्रहरी कार्यालय सबैलाले असोज ११ गते गिरफ्तार गरेको छ ।

वडामा सडक विस्तारको क्रममा ०७७ वैशाख २३ गते भएको दोहोरो झडपमा परी सबैला नपा–४ की ४५ वर्षीया सुमिन्त्रादेवी यादव गम्भीर घाइते भई उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा जेठ १६ गते मृत्यु भएको थियो ।

दोहोरो झडपमा ४५ वर्षीय रामचन्द्र बिराजी, ४३ वर्षीय ऋतिक यादव, ३५ वर्षीय दिपक यादव र ३२ वर्षीय रञ्जित यादवसमेत घाइते हुनु भएको थियो । घाइतेहरूको उपचार प्रादेशिक अस्पताल जनकपुरमा वैशाख २३ गते गरिएको थियो ।

उपचारको क्रममा घाइते सुमिन्त्रादेवी यादवको मृत्यु भएपछि मृतकका परिवारजनले वडाध्यक्षसहित १० जनाविरूद्ध कर्तव्य ज्यान मार्ने उद्योग शीर्षकमा जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका थिए ।

मोरङ प्रहरीले इलाका प्रहरी कार्यालय सबैलालाइ जेठ १६ गते नै सक्कल उजुरी पठाएपछि इलाका प्रहरी कार्यालय सबैलाले पीडित परिवारले दिएको उजुरी दर्ता गरी अनुसन्धानको क्रममा ‘फरार’ रहेका वडाध्यक्ष ठाकुरलाई जनकपुरधाम उपमहानगरपालिका–४ बाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय सबैलाका इन्स्पेक्टर राजेश सिग्देलले बताउनुभयो ।

वडाध्यक्ष ठाकुरका छोरा पुरन शर्माले झडपमा बुबाको संलग्नता नरहेको भएपनि घाइतेको मृत्यु भएपछि पीडित परिवारले वडाध्यक्षलगायतको नाममा दिएको किटानी उजुरीमा प्रहरी प्रशासनलाई अनुसन्धान गर्न सहज होस् भन्ने उद्देश्यले स्वयम्ले गिरफ्तारी दिएको बताउनुभयो ।

जिल्ला अदालत धनुषाबाट सात दिने म्याद थप गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर सिग्देलले बताउनुभयो ।

अन्य

भिडियो